समाचारबिहीबार, माघ १८, २०६९
‘सरकारले भिजिलान्ते प्रयोग गरी आक्रमण गर्यो’
विराटनगरमा १८ माघमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता रिजालले एमाओवादीले जनतालाई भय र त्रास देखाउँदै निरंकुश शासन चलाउन खोजेको बताएका छन् । उनले सत्ता गठबन्धनले जनपरिचालनका नाममा गरेको सडक प्रदर्शनले पञ्चायतकालको पञ्चर्यालीलाई सम्झाएको बताए । “एमाओवादी नेतृत्वको सरकारले भिजिलान्ते प्रयोग गरी पत्रकार, मानवअधिकारकर्मी र बिपक्षी दलमाथि आक्रमण गराएको छ,” रिजालले भने, “पञ्चायतका भन्दा पनि डरलाग्दा भिजिलान्ते बाबुरामले पालेका छन् ।”
उनले पत्रकार डेकेन्द्र थापाको हत्या प्रकरणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईले दैलेख पुगेर जनतालाई धम्की दिएको आरोप लगाए ।
विराटनगरमा २० माघमा हुने विपक्षी दलहरुको प्रर्दशनका बारेमा जानकारी दिन आयोजित उक्त पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य राजेन्द्र गौतमले लोकतन्त्र, राष्ट्रिय स्वधिनता र संवैधानिक क्रियाशिलताका लागि विराटनगरमा प्रदर्शन गर्न लागेको जानकारी गराएका थिए ।
कमल रिमाल/विराटनगर

