समाचारशुक्रबार, माघ १९, २०६९
भट्टराईको निर्वाचन गराउने हैसियत छैनः देउवा
इटहरीको हाँसपोसामा नेपाली कांग्रेसले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै बरिष्ठ नेता देउवाले संवैधानिक निकायहरु खाली रहेको, निर्वाचनका लागि आवश्यक कानून, संविधान संसोधन लगायतका कामहरु नभएको अवस्थामा वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने बताए ।
“निर्वाचन आयोग खाली छ, अरु संवैधानिक निकायहरु धमाधम पदाधिकारीविहीन बनिरहेका छन्,” नेता देउवाले भने, “सबै निकाय खाली बनाएर मुलुकलाई असफल राष्ट्र बनाउने यो सरकारलाई नेपाली जनताले एकछिन पनि राख्न हुँदैन ।”
संविधानसभा विघटन गराएर निरन्तर सत्तामा टिकिरहने खेल शुरु गरेको भट्टराई नेतृत्वको सरकारले संविधान नै बनाउन नचाहेको दाबी गर्दै उनले मुलुकको सङ्कट समाधानका लागि सम्पूर्ण राजनीतिक दल सहभागी रहेको सहमतिको सरकार आवश्यक भएकोमा जोड दिए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले एमाओवादीको बेइमानी र कपटपूर्ण व्यवहारकै कारण राजनीतिक दलहरुबीचमा सहमति बन्न नसकेको ठोकुवा गर्दै माओवादीले कसैसँग सहकार्यको हात बढाउन नचाहेको बताएकाथिए ।

