समाचारशुक्रबार, माघ १९, २०६९
पत्रकार डेकेन्द्र हत्याका अभियुक्तहरु जेल चलान
१९ माघमा जिल्ला न्यायाधीश रामकृष्ण भट्टको इजलासले पत्रकार थापा हत्या अभियोगमा पक्राउ परेका पाँच जना अभियुक्तलाई जेल चलान गर्ने आदेश दिएको अदालतका स्रेस्तेदार आनन्दराज पन्तले बताए ।
थापा हत्यासम्बन्धी मुद्दामा १८ र १९ माघमा बादी र प्रतिवादी दुवैतर्फका वकिलहरुले बहस गरेका थिए । जाहेरी दर्खास्तवाला डेकेन्द्रकी पत्नी लक्ष्मी थापाका तर्फबाट जिल्ला सरकारी वकिल डम्बर काफ्ले सहित अधिवक्ताहरु वसन्त गौतम, कृष्णबहादुर हमाल, सुरेन्द्र अधिकारी, ललितबहादुर मल्ल र गोबिन्द बन्दीले बहस गरेका थिए । त्यस्तै अभियुक्त पक्षबाट गोपाल शिवाकोटी चिन्तन, केदार गुरागाईं र कपिल पोखरेलले बहस गरेका थिए ।
प्रतिवादीका तर्फबाट स्थानीय अधिवक्ताहरुले बहस गर्न नमानेपछि चिन्तनसहितको टोली काठमाडौंबाट आएको थियो । डेकेन्द्र पत्रकारमात्रै नभई असल समाजसेवीसमेत भएकाले प्रतिवादीलाई जिल्लाका कानून ब्यवसायीले साथ नदिएको एक अधिवक्ताले बताए ।
तत्कालीन नेकपा माओवादीले २७ साउन २०६१ मा पत्रकार थापाको अपहरण गरी हत्या गरेको थियो । थापा हत्याका अन्य चार अभियुक्त अझै पक्राउ परेका छैनन् ।

