समाचारशुक्रबार, फाल्गुण ४, २०६९
रेग्मीलाई प्रधानमन्त्री बनाउने बारे सत्ता गठबन्धनमै विवाद
४ फागुन बिहान बसेको सत्तारुढ गठबन्धन संघीय लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको बैठकमा साना दलहरुले प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन नहुने भन्दै एमाओवादी प्रस्तावको विरोध गरेका छन् ।
विवादपछि बैठक ५ फागुनमा पुनः बस्ने निर्णय गरी विना निष्कर्ष टुंगिएको दलित जनजाति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले हिमालखबरलाई बताए । “सरकारमा रहेका र बाहिर रहेका समेत गरी ११ दलले प्रधानन्यायाधीशलाई सरकार प्रमुखको जिम्मेवारी दिन नहुने भनेपछि बैठक विना निष्कर्ष टुंगिएको छ,” गठबन्धनमा आवद्ध पासवानले भने, “न्यायालयलाई समेत विवादमा तानेपछि अब मुलुकमा के बाँकी रहन्छ ?”
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन मोर्चाको बैठकमा तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महेन्द्र यादव, संघीय सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा लगायतले पनि एमाओवादी प्रस्तावको विरोध गरेका छन् ।
पासवानले प्रमुख दलहरुले बहालवाला प्रधानन्याधीशको नेतृत्वमा सरकार गठन गरेमा त्यसविरुद्ध रहेका आफूहरु आन्दोलनमा जाने पनि जानकारी गराए ।
