थप समाचारशनिबार, फाल्गुण ५, २०६९
रुसमा उल्कापिण्ड खस्दा बाह्र सय घाइते
१० टन तौल अनुमान गरिएको उक्त उल्कापिण्ड शुक्रबार पृथ्वीको वायुमण्डलमा प्रवेश गरेपछि जमिनभन्दा ३० देखि ३५ किलोमिटर माथि टुक्रिएर छरिएको थियो । जसबाट निस्किएको उर्जा सानो परमाणु हतियार बराबर भएको रुसको विज्ञान प्रतिष्ठानले जनाएको छ ।
उल्कापिण्ड खस्दा रुसको प्रमुख औद्योगिक शहर चेल्याबिन्सकका भवनका शिशाहरु फुटेका छन् । युराल पहाडी क्षेत्रमा आगोको गोला आकाशमा देखिएको र विस्फोटनका साना ठूला आवाज आएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । रुसको आन्तरिक मन्त्रालयका प्रवक्ताले ६ वटा शहरहरुमा उल्कापिण्डले क्षति पुगेको बताएका छन् । चेल्याबिन्स्कका बासिन्दाले त्यसबेला पृथ्वी हल्लिएको अनुभूति भएको र गाडीहरुमा अलार्म बजेको बताएका छन् । शहर नजिक चेबारकुलको तलाउमा एउटा उल्कापिण्डको ठूलो टुक्रा खसेको र त्यसलाई सयौं किलोमिटर टाढाबाट देखिएको रुसी सञ्चारमाध्यमहरुले बताएका छन् ।
समाचार एजेन्सी रोयटरर्सका अनुसार चेल्याबिन्सभन्दा २०० किलोमिटर उत्तरस्थित येकातरीबर्गमा उल्कापिण्डका टुक्राहरु खस्दै गरेको देखिएको थियो ।
समाचार एजेन्सी इन्टरफ्याक्सका अनुसार भवनका सिसाहरु फुटेर हावामा उड्दा धेरै व्यक्तिहरु घाइते भएका छन् । एपीका अनुसार एउटा जस्ता उद्योगको छतको ६ सय बर्ग फिट भाग भत्केको छ । चेल्याबिन्स्क रुसको प्रमुख औद्योगिक क्षेत्र हो ।
युरालको पहाडमा एउटा ठूलो उल्कापिण्ड टुक्रंदा वायुमण्डलको तल्लो भाग आंशिक रुपमा जलेको र त्यसपछि यसका टुक्राहरु जमिनमा खसेको रुसी अधिकारीहरुले बताएका छन् ।
रुसी सरकारले प्रभावित क्षेत्रमा उद्दार र सफाइका लागि २० हजार कामदार खटाएको छ ।
एजेन्सीहरु

