समाचारशनिबार, फाल्गुण ५, २०६९
एमाले केन्द्रीय कमिटी बैठक जारी, स्थायी कमिटी बैठक सकियो
बहालवाला प्रधानन्यायाधिशलाई सरकारको नेतृत्व दिने वा नदिने भन्ने बारेमा आधिकारिक धारणा बनाउन एमाले केन्द्रीय समितिको बैठक बिहान ११ बजेदेखि बसिरहेको छ । पार्टी कार्यालय बल्खुमा बसिरहेको बैैठकमा एउटै धारणा बनाउने बारेमा छलफल भइरहे पनि केन्द्रीय सदस्यहरुले फरक फरक धारणा राखेका कारण सहमति जुट्न नसकेको एमाले स्रोतले जनाएको छ ।
अधिकांश केन्द्रीय सदस्यहरु प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने पक्षमा रहेको एक नेताले जानकारी दिए । तर आजको बैठकबाट ठोस निर्णय गरेर चार शक्तिको छलफलका लागि राष्ट्रपति भवन शितल निवास जाने नेताहरुले बताएका छन् ।
स्थायी कमिटीको बैठक सकियो
केन्द्रीय कमिटीको बैठकमा चर्को विवाद भएपछि बैठक केहीबेरका लागि स्थगित गरी बसेको स्थायी कमिटीको बैठक भने सकिएको छ । बैठक सकिए पनि निर्णय भने बाहिर ल्याइएको छैन ।
अहिले स्थायी समितिको बैठकको निर्णयका बारेमा केन्द्रीय कमिटीमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् ।
यसैबीच एमालेले आधिकारिक धारणा बनाउन नसकेका कारण राष्ट्रपतिले दिउँसो तीन बजेका लागि बोलाएको प्रमुख चार दलको बैठक बस्न सकेको छैन । तर एकीकृत नेकपा माओवादी, नेपाली कांगे्रस तथा मधेसी मोर्चाका शीर्ष नेताहरु भने शीतल निवास पुगिसकेका छन् ।
संविधानसभाको नयाँ निर्वाचनको मितिलगायतका विषयमा प्रमुख दलहरुबीच आज निर्णायक छलफल हुने भनिएको छ ।
