समाचारशनिबार, फाल्गुण ५, २०६९
दलहरुले कार्यदल गठन गरे
५ फागुनमा राष्ट्रपतिको कार्यालय शीतलनिवासमा बसेको एमाओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेशी मोर्चाको बैठकमा ठोस सहमति नभएपछि उनीहरुले कार्यदल गठन गरेका हुन् । कार्यदलमा एमाओवादीको तर्फबाट कृष्णबहादुर महरा र खिमलाल देवकोटा, कांग्रेसबाट विमलेन्द्र निधि र मिनेन्द्र रिजाल, एमालेबाट अग्नी खरेल र भीम रावल तथा मधेशी मोर्चाको तर्फबाट हृदयेश त्रिपाठी र जितेन्द्र देव छन् ।
कार्यदलले जेठ १५ गते भित्रै चुनाव गराउने आधार, रिक्त संवैधानिक निकायमा नियुक्तिको व्यवस्था, प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सरकार प्रमुखको जिम्मवारी दिंदा शक्ति पृथकीकरणको सिद्धान्त विपरित नहुने ब्यवस्था बारेमा सहमति खोज्ने एमाओवादी महासचिव पोष्टबहादुर बोगटीले जानकारी दिए । उनले संविधान संसोधनका लागि बाधा अड्काउ फुकाउने, सरकार गठनको प्रक्रिया, दैनिक प्रशासन सञ्चालन विधि र संरचना लगायतका विषयमा प्याकेजमै सुझाव पेश हुने बताए ।
कार्यदलले पेश गरेको सुझावका आधारमा ६ फागुनमा फेरि शिर्ष तहमा छलफल हुने एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिए ।
एमाले केन्द्रीय कमिटीले चुनावी सरकारको नेतृत्वका लागि सबै विकल्पमा खुल्ला रहने निर्णय गर्दै उपयुक्त सहमति गर्ने जिम्मा शिर्ष नेतालाई दिएपछि प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्न दलहरु सहमतिमा पुगेका हुन् ।
