थप समाचारआइतबार, फाल्गुण ६, २०६९
सुनामी पीडितलाई सुनका इँटा!
माछा मारेर ब्यवहार चलाउने यस ठाउँका स्थानीयलाई सुनका इँटा भएको बेनामी पार्सल हुलाकबाट आउने गरेको छ ।
करिब १० दिनअघि मियागी प्रान्तको इशिनोमिकीमा यो सुनको इँटा प्राप्त भएको थियो । सुनामी सहायता समूह र माछा बजारमा काम गर्ने व्यक्तिहरुलाई दुई किलोग्राम तौलको सुनका इँटाहरु प्राप्त भएका छन् । जसको बजार मुल्य २ लाख ५० हजार डलर छ ।
एक स्थानीय पत्रिकाले यसलाई ‘सुनको सद्भाव’ भनेको छ ।
११ मार्च २०११ मा जापानमा आएको भूकम्प र सुनामीले करिब १९ हजार व्यक्तिको निधन भएको थियो भने फुकुशिमामा रहेको परमाणु संयन्त्र पनि ध्वस्त भएको थियो । इशिनोमिकी राजधानी टोकियोको उत्तर पूर्वमा करीब ३५० किमीको दुरीमा छ । यहाँ तीन हजार व्यक्ति मारिएका थिए र चालिस हजार भन्दा धेरै भवनहरु नष्ट भएका थिए ।
बन्दरगाह र माछा बजार सञ्चालन गर्ने कम्पनीका प्रमुखका अनुसार उनलाई दुई किलो सुनको इँटको एउटा पार्सल प्राप्त भएको छ ।
पठाउनेको ठेगाना छैन
इशिनोमिकी फिश मार्केट लिमेटेडका प्रमुख क्यूनियो सूनोले समाचार एजेन्सी एएफपीलाई बताए अनुसार यो पार्सलमा पठाउनेको ठेगाना उल्लेख छैन ।
“यो पार्सललाई विविध वस्तुका रुपमा चिन्हित गरिएको थियो त्यसैले मैले बडो सावधानीसँग यसलाई खोलें,” सुनो भन्छन्, “यसलाई खोलेपछि म चकित भएँ किनभने यसमा दुईवटा २४ क्यारेटका सुनका इँटाहरु थिए, जसलाई कागजमा लपेटिएको थियो ।” सुन बाहेक त्यस पार्सलमा अरु कुनै सन्देश र फिर्ती ठेगाना पनि नभएको सूनो बताउँछन् । यो पार्सल उत्तरपश्चिमी शहर नागानोबाट पठाइएको सम्म थाहा भएको छ । सूनोका अनुसार उनले यो धनलाई माछा बजारको पुननिर्माणमा खर्च गर्नेछन् ।
यसै गरी इशिनोमिकीको पनरुद्धारका लागि काम गरिरहेको संस्था योशी कनिकोलाई पनि दुईवटा सुनका इँटा प्राप्त भएका छन् । उनीहरु भन्छन, “हामी यो दाताको सम्मान गर्छौ यसलाई बर्बाद हुन दिने छैनौं ।”
बीबीसी
