समाचारसोमबार, फाल्गुण ७, २०६९
पार्टी नेतृत्वले किर्ते जालसाजी गर्यो: गगन थापा
नेता थापाले ६ फागुनमा विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस समेतको सहमतिमा प्रधानन्यायाधीशलाई कार्यपालिका प्रमुख बनाउन राजनीतिक दलहरु बीच भएको सहमतिले आफूलाई अचम्मित पारेको बताएका छन् ।
उनले नेपाली कांग्रेसले आफ्ना मूल्य मान्यतालाई तिलाञ्जली दिएको भन्दै थपेका छन, “नेपाली कांग्रेसको निर्णय भनेको कुनैपनि शर्तमा बहालवाला प्रधानन्यायधीशलाई कार्यकारी अधिकार दिने कुरा स्विकार्य हुँदैन भन्ने नै थियो । यसमा पार्टीको नेतृत्व र केन्द्रीय सदस्यहरुबीचमा द्विविधा नै थिएन ।”
नेता थापाले न्यायपालिकालाई राजनीतिमा सक्रिय बनाउँदा दीर्घकालीन प्रभाव पर्ने र मुलुकमा राजनीतिक अस्थिरता थप बढ्ने भन्दै शीर्ष नेतृत्वले केन्द्रीय समितिको अपमान गरेको भनेका छन् । पार्टी केन्द्रीय समितिको निर्णय विरुद्ध गएर शीर्ष नेतृत्व आत्मसमर्पणवादी भएको दाबी गर्दै थापाले महासमितिको बैठक बोलाउन माग गरेका छन् ।
