समाचारबुधबार, फाल्गुण ९, २०६९
रेग्मी प्रधानमन्त्री हुने नहुने आज टुंगो लाग्ने
९ फागुन बिहान शीतल निवासमा राष्ट्रपतिसँग भेट गरेका एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका नेताहरुले प्रधानन्यायाधीश रेग्मीले राखेको शर्त र त्यसको समाधानका विषयमा छलफल गरेका थिए । भेटमा दलहरुबीच विवादित बनेका विषयलाई टुङ्गो लगाउने विषयमा पनि राष्ट्रपतिसँग परामर्श भएको नेताहरुले बताएका छन् ।
दलहरुले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिने सहमति सँगै सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउने, सिमित अधिकार दिने जस्ता निर्णयहरुमा प्रधानन्यायाधीश रेग्मीले आफ्ना निकटस्थहरु मार्फत असन्तुष्टि जनाउँदै आएका छन् ।
रेग्मीले आफू पूर्ण अधिकारसहितको प्रधानमन्त्री बन्न पाउनुपर्ने, दलहरुबीचमा पूर्ण सहमति हुनुपर्ने र आफू नेतृत्वको मन्त्रिपरिषदमा आफूले नै सदस्यहरु नियुक्त गर्नु पाउनुपर्ने लगायतका शर्त राखेको उनी निकट स्रोतले जनाएको छ ।
दलका नेताहरुले आजै प्रधानन्यायाधीशलाई भेटी उनलाई मनाउन प्रयास गर्ने बुझिएको छ ।
प्रधानन्यायाधीश रेग्मी भेट्ने दलहरुको प्रयास जारी
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई भेटेर चुनावी अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वका लागि आग्रह गर्ने दलहरुको प्रयास जारी छ ।
बिहानै भेट गर्ने कार्यक्रम रहेपनि प्रधानन्यायाधीश रेग्मीले संयुक्त भेट गर्दा अप्ठ्यारो पर्ने बताएका कारण भेट हुन नसकेको एक नेताले जानकारी दिए । दलहरुले गरेको ९ बुँदे सहमतिमा प्रधानन्यायाधीश रेग्मीले असन्तुष्टि जनाएपछि प्रमुख चारशक्तिका शीर्ष नेताहरुले उनीसँग छलफल गरेर टुङ्गोमा पुग्ने सहमति गरेका थिए ।
आज रेग्मीसँग छलफल भएपछि संयुक्त बैठक बसेर थप छलफल गर्ने सहमति भएको एमाले नेता भीम रावलले जानकारी दिए । दलहरुबीच सत्यनिरुपण तथा मेलमिलाप आयोग, नागरिकताको आधार र शान्ति प्रक्रिया अन्र्तगतको लडाकुको दर्जाका विषयमा कुरा मिलेको छैन । आज ती विवादका विषयमा पनि छलफल हुनेछ ।
