थप समाचारबिहीबार, फाल्गुण १०, २०६९
भारतलाई कोहिनुर फिर्ता गरिंदैनः क्यामरुन
विश्वकै सबैभन्दा ठूलो हिरामध्येको १०५ क्यारेटको कोहिनूर हिरा १९ औं शताब्दीमा भारतबाट बेलायत लगिएको थियो, त्यसबेला भारतमा अंग्रेजहरुको शासन थियो ।
कोहिनूर हिरा अहिले लन्दन टावरमा राखिएको छ ।
महात्मा गान्धीका नाति समेत कयौं भारतीयहरुले कोहिनूर हिरा भारतलाई फर्काउन माग गरेका थिए । तर क्यामरुनले त्यो मागलाई खारेज गर्दै भने, “मलाई लाग्दैन यो सही तरिका हो, ग्रिसको एलगिन संगमरमरसँग पनि यस्तै मामिला छ, मलाई वस्तुहरु फिर्ता गर्नुमा विश्वास छैन ।” उनले थपे, “मलाई लाग्दैन यो सुझबुझपूर्ण कुरा हो ।”
ग्रिकका पत्थरहरुबाट बनेका मुर्तिहरु पनि बेलायत पुगेका छन र लामो सयमदेखि ग्रिकले ती मूर्तिहरु फिर्ता पाउनुपर्ने माग गरे पनि बेलायतले इन्कार गर्दै आएको छ ।
यसबारेमा अगाडि बोल्दै क्यामरुनले भने, “बेलायतका संग्राहलयम र अरु सांस्कृतिक संस्थाहरुले संसारभरका अन्य संस्थाहरुसँग सम्पर्क गरेर सुनिश्चित गरुन जुन वस्तुहरुलाई बेलायतले यती लामो समयसम्म राम्रो तरिकाले सुरक्षित राखेको छ, ताकी ती बस्तुहरुलाई विश्वभरका मानिसहरुलाई देखाउन सकियोस ।”
क्यामरुनले पछाडि फर्कनु भन्दा पनि भारतसँग वर्तमान र भविष्यको सम्बन्धका बारेमा आफ्नो ध्यान केन्द्रित गर्न चाहेको बताए ।
अंग्रेज शासित तत्कालिन भारतका गभर्नर जनरलले सन् १८५० मा यो विशेष हिरालाई बेलायतकी महारानी भिक्टोरियालाई उपहार दिएका थिए । पछि यो हिरा महारानी एलिजाबेथ प्रथमको मुकुटमा सजाइयो ।
भारत स्वतन्त्र भएको ५० वर्ष पूरा भएको अवसर सन १९७७ मा महारानी एलिजाबेथ द्वितियले भारत भ्रमण गरेकी थिइन् त्यती बेला पनि कतिपयले उनीसँग कोहिनूर हिरा भारतलाई फिर्ता दिन माग गरेका थिए ।
बेलायतका राजकुमार प्रिंस विलियमकी पत्नी केट मिडलटन विलियम बेलायतकी महारानी बनिन् भने उनले पनि औपचारिक अवसरहरुमा यो कोहिनुर हिराले सजाइएको मुकुट लगाउने छिन् ।
कोहिनूरको इतिहास
‘विकिपिडिया’ का अनुसार कोहीनूर (कूह–ए–नूर पारसी शब्द) को अर्थ आभा या उज्यालोको पर्वत हुन्छ । कोहिनूर हिरा भारतको गोलकुंडा खानीबाट निकालिएको भनिन्छ । यो पहिले मुगल र फारसी शासकहरुसँग हुन्थ्यो । अन्ततः यो बेलायतको अधिकारमा आयो जब सन् १८७७ मा महारानी विक्टोरिया भारतकी समेत साम्राज्ञी घोषित भइन् ।
अन्य प्रसिद्ध जुहारत जस्तै, कोहिनूरका पनि आफ्नै कथाहरु छन् । यससँग जोडिएका मान्यताका अनुसार यो पुरुषहरुले धारण गरेपछि उनीहरुको मृत्यु भयो भने स्त्रीले धारण गर्दा सौभाग्य प्राप्तिको माध्यम बन्यो । अन्य मान्यताका अनुसार, कोहिनूरको मालिक संसारमै राज्य गर्न सफल भयो ।
भनिन्छ, भारतका शासक शाहजहाँले कोहिनुरलाई आफ्नो प्रसिद्ध मयुर सिंहासनमा जडेका थिए । उनका छोरा औरंगजेबले आफ्ना पितालाई आगरा फोर्टमा कैद गरेर राखे । उनले कोहिनुरलाई झ्यालसँग यसरी मिलाएर राखेका थिए कि त्यसमा ताजमहलको प्रतिविम्ब देखिन्थ्यो ।
त्यसपछि १७३९ मा इरानी शासक नादिर शाहले आगरामा भयंकर लुटपाट मच्चाएपछि कोहिनूर हिरा उनको कब्जामा पुग्यो र उनैले यसको नाम कोहिनूर दिएका हुन् ।
सन् १७४७ मा नादिर शाहको हत्यापश्चात यो अफगानिस्तानका अहमद शाह अब्दालीको हाथमा पुग्यो । सन् १८३० मा शुजा शाह अफगानिस्तानका तत्कालिन पदच्युत शासक त्यो हिरासँगै पञ्जाव आए र महाराजा रञ्जीत सिंहलाई उपहार दिए । कोहिनुर हात पारेका रञ्जीत सिंहले आफ्ना सेना पठाएर आफगानिस्तानमा शुजा शाहलाई पुनस्थपित गराएका थिए ।
एजेन्सीहरु

