समाचारबिहीबार, फाल्गुण १०, २०६९
मधेशमा दण्डहीनता बढ्यो
मधेशका विभिन्न जिल्लामा आपराधिक गिरोह, सशस्त्र समूहद्वारा गरिने हत्या, अपहरण जबर्जस्ती चन्दा असुली र लुटपाटका घटनाबाट आमनागरिक पीडित हुँदै आएका छन् ।
मानव अधिकार सञ्जालको प्रतिवेदनअनुसार गैरन्यायायिक हत्याको शृङ्खला पनि निकै बढेको छ । सुरक्षा निकाय संलग्न नै भई भएका सुरक्षा कारबाहीको निष्पक्ष अनुसन्धान नगरिने अवस्था रहेकाले पनि दण्डहीनताको अवस्था कायम रहेको प्रतिवेदनमा उल्लेख छ ।
विसं २०६४ पुस १७ देखि २०६७ पुस १७ सम्म भएका हत्याका घटनामा मधेसमा १३३ जनाको गैरन्यायिक हत्या भएको तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ । मध्य तराईका जिल्लामा अपहरणपश्चात फिरौती मागेको र सो नदिँदा हत्या गर्ने गरेको देखिएको छ ।
प्रतिवेदनमा उक्त अवधिमा सप्तरीमा ११४, सिरहामा १०७, धनुषामा १७३, महोत्तरीमा ८५, सर्लाहीमा १०३, रौतहटमा १०२, बारामा १०४ र पर्सामा ६५ जनाको हत्या गरिएको छ ।
त्यस्तै ती जिल्लामा २०६४ सालपछि ६० भन्दा अधिक स्थानमा बम विस्फोट गराइएको छ जसमा राजनीतिक पार्टीका कार्यालय, सरकारी कार्यालय तथा सार्वजनिक स्थान रहेका छन् ।
