थप समाचारआइतबार, फाल्गुण १३, २०६९
पर्सामा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान
निर्मलवस्ती गाविस– २ मा पर्ने जंगल क्षेत्रमा प्रहरीको गस्ती टोली र गाँजा तस्कर बीच दोहोरो गोली हानाहान भएको हो । तस्कर समुहले जंगलको बाटो हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको अवस्थामा प्रहरीले फेला पारेपछि गोली हानाहान भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बोरामा गाँजा बोकेर आएको ६ जना तस्करको समूहले प्रहरीको गस्ती टोलीलाई देखे लगत्तै तीन राउण्ड फायरिङ्ग गरेको थियो । गाँजा तस्करले फयरिंङ्ग गरेपछि प्रतिरक्षाको लागी प्रहरीले पनि ७ राउण्ड फायर गरेको प्रहरी नायव निरिक्षक अरुण कुमार चौधरीले जानकारी दिए । गोली हानाहान भएपनि कुनै मानवीय क्षति नभएको चौधरीले बताए ।
गोली हानाहानपछि अन्य पाँच जना भाग्न सफल भए पनि प्रहरीले एक जना भारतीय तस्करलाई भने २५ किलो गाजासहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतको मधुवनीका जगन्नाथ चौहान रहेको प्रहरीले जनाएको छ । घटनस्थलबाट प्रहरीले एक थान नलकटुवा पेस्तोल समेत वरामद गरेको छ ।
अली असगर, वीरगञ्ज

