थप समाचारशनिबार, फाल्गुण १९, २०६९
कर्णेल कुमार लामा धरौटीमा रिहा हुँदै
युद्ध अपराधको अभियोगमा झण्डै दुई महिनादेखि लण्डनको बेलमार्स कारागारमा थुनामा रहेका कर्णेल लामालाई १० हजार पाउण्ड धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
जमानत आवेदनमाथि सुनुवाई हुँदा लामालाई धरौटीमा रिहा गर्ने आदेश दिएको र अब उनी तीन दिनभित्र रिहा हुने बेलायतस्थित नेपाली राजदूत सुरेशचन्द्र चालिसेले जानकारी दिएका छन् ।
यसअघि जमानतका लागि दिएको निवेदन अदालतले अस्वीकार गरेको थियो । धरौटीमा रिहा भए पनि लामाले तुरुन्तै बेलायत छोड्न भने पाउने छैनन् ।
सुडानस्थित राष्ट्रसंघीय मिसनमा खटिएका नेपाली सेनाका कर्णेल (महासेनानी) कुमार लामालाई बेलायतमा रहेकी पत्नी भेट्न गएका बेला १९ पुसमा त्यहाँको प्रहरीले पक्राउ गरी युद्ध अपराधसम्बन्धी मुद्दा चलाएको छ ।
उनलाई सन् २००५ मा गोह्रुसिंगे ब्यारेकमा छँदा दुई जना बन्दीलाई यातना दिएको अभियोग लगाइएको छ ।
