समाचारशनिबार, फाल्गुण १९, २०६९
सद्भावना पार्टीमा जनतान्त्रिक क्रान्तिकारीको विलय
दुबै पार्टीबीच लामो समयदेखि चल्दै आएको वार्ता निष्कर्षमा पुगेपछि ५ बुँदे सहमति गर्दै दुवै पार्टीबीच एकीकरण भएको जारी विज्ञप्तिमा जनाइएको छ । जनतान्त्रिक क्रान्तिकारीले सद्भावना पार्टीको दस्तावेजलाई पूर्ण रुपमा स्वीकार गरी पार्टीको नाम समेत सदभावना नै राखिएको सहमतिपत्रमा उल्लेख छ ।
जनकपुरमा १९ फागुनमा आयोजित दुई पार्टीबीचको एकीकरण समारोहमा सद्भावना पार्टीका अध्यक्ष समेत रहेका स्वास्थ्य मन्त्री राजेन्द्र महतोले जनतान्त्रिकको संगठन मेचीदेखि महाकालीसम्म फैलिएकोले मधेशको मुद्दा अझै सशक्त रुपमा उठाउन सकिने भएकोले एकीकरण गरेको बताए ।
सम्झौता बमोजिम स्वास्थ्यमन्त्री राजेन्द्र महतोले सशस्त्र संघर्षको क्रममा सिरहामा मारिएका जनतान्त्रिकका संस्थापक अध्यक्ष रामनारायण महतोलाई राष्ट्रिय शहीद घोषणा गरी स्मारक निर्माणका लागि पहल गर्नेछन् ।
एकीकरण कार्यक्रममा जनतान्त्रिक क्रान्तिकारीका अध्यक्ष रणवीर सिंहको उपस्थिति भने थिएन । सिंहमाथि हत्याका अभियोगहरु लागेकाले उनी उपस्थित हुन नसकेको उपाध्यक्ष रामबृक्ष महतो बिवशले बताए । महतोले नेपाल सरकारले नै सैद्धान्तिक रुपमा मुद्दा फिर्ता गराउने निर्णय मन्त्री परिषद्बाट पारित गरिसकेको जनाउँदै मुद्दा फिर्ता प्रकृयामा रहेको उल्लेख गरे ।
कार्यक्रममा जनतान्त्रिक क्रान्तिकारीका महासचिव राजिव झाले दुबै पार्टीबीच भएको सम्झौता पत्र पढेर सुनाएका थिए । उनले सशस्त्र संघर्षको क्रममा राज्यले मुद्दा लगाउने प्रकृया नेपालमा मात्रै नभई अन्तर्राष्ट्रिय समुदायमा समेत चलिआएकोले शान्ति प्रकृयामा अवतरण गरेपछि मुद्दा फिर्ता गरिने प्रचलन बमोजिम नै सरकारले मुद्दा फिर्ता लिने विश्वास व्यक्त गरेका थिए ।
इश्वरचन्द्र झा, जनकपुर
