समाचारआइतबार, फाल्गुण २०, २०६९
प्रजातन्त्र खतरामाः कोइराला
नेपाल प्रेस युनियन झापाले २० फागुनमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सभापति कोइरालाले सर्वसत्तावादको कारण प्रजातन्त्रमाथि खतरा उत्पन्न भएकाले प्रेसजगत्लाई अझ प्रभावकारी भूमिका निर्वाह गर्न सल्लाह दिएका छन् ।
कोइरालाले भने, “कांग्रेसले लोकतान्त्रिक मूल्यमान्यता र आदर्शविपरीत कसैसँग सम्झौता गर्दैन बरु बलिदान दिन तयार छ ।”
कार्यक्रममा कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्र र प्रेसजगत् एउटै सिक्काको दुई पाटा रहेको चर्चा गर्दै लोकतन्त्रका साथै जनतालाई सुसूचित गर्ने प्रेसजगत्लाइ सहयोग गर्न नेपाली कांग्रेस सदैव तत्पर रहेको उल्लेख गरे ।
अर्का कांग्रेस नेता अर्जुननरसिंह केसीले नेपालमा लोकतन्त्रलाई सुदृढ बनाउनमा प्रेसजगत्को अत्यन्त महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रेस स्वतन्त्रता विना लोकतन्त्रको कल्पना गर्न नसकिने बताए ।
उक्त अवसरमा नेपाल प्रेस युनियन झापाले पत्रकारहरु चिन्तामणि दाहाल, गोविन्दचन्द्र छेत्री, लोकराज ढकाल सम्मान गरेको छ । त्यसैगरी खगेन्द्र कार्कीलाई मरणोपरान्त सम्मान गरेको छ ।
रासस
