थप समाचारबिहीबार, फाल्गुण २४, २०६९

दाई ओबामाले चुनाव हारे

हिमालखबर

चुनावमा मत दिएर फर्कदै गरेका मलिक ओबामा । तस्बीर: रोयटर्स

अमेरिकी राष्ट्रपति बाराक ओबामाका दाई मलिक ओबामाले निर्वाचनमा हारेका छन् ।

अफ्रिकी मुलुक केन्या निवासी मलिक ओबामा अमेरिकी राष्ट्रपतिका सौतेनी आमा पट्टीका दाई हुन् । उनी केन्यामा ४ मार्चामा भएको आम निर्वाचनमा सिआया प्रान्तको गभर्नर पदका निर्दलीय उम्मेदवार थिए ।

आफ्ना भाई अमेरिकी राष्ट्रपति बाराक ओबामालाई पछ्याउँदै चुनावी मैदानमा उत्रेका मलिकको न त दल थियो न त आवश्यक धन नै ।

निर्वाचनको प्रचारका क्रममा मलिकले आफ्नो नाता अमेरिकी राष्ट्रपतिसँग पर्ने भए पनि आफ्नै बलवुतामा निर्वाचनमा होमिएको बताएका थिए ।

चुनावी प्रचारको ढाँचा पनि उनको बाराककै जस्तो थियो, उनले केन्यामा राजनीतिक र आर्थिक परिवर्तन ल्याउने कुरा गरेका थिए तर उनले जनताको समर्थन पाउन सकेनन् ।

सन् २००७ मा केन्यामा भएको निर्वाचनमा ठूलो हिंसा भएको थियो र करिब एक हजार व्यक्ति मारिएका थिए भने लाखौं घरबारबिहिन भएका थिए ।

हिंसालाई रोक्न केन्याको संविधानमा परिवर्तन गरिएको थियो । यसपालीको निर्वाचनमा पहिले जस्तो हिंसा नभए पनि चुनाव र मतगणनाका बेला प्रशस्तै कमजोरी देखिएका थिए, कतिपयले निर्वाचनको निष्पक्षतामाथि पनि प्रश्न उठाएका छन् ।

मलिक ओबामा आफ्ना भाई अमेरिकी राष्ट्रपति बाराक ओबामासँग अमेरिकामा भेट गर्दै । अनलाइन तस्बीर

ओबामाका दाई अब राजनीतिक मैदानमा

Mar 3, 2013 @ 18:11

अमेरिकी राष्ट्रपतिका दाई भएकोले उनकाप्रति मानिसहरुको निकै उत्सुकता छ ।

केन्यामा ४ मार्चमा आमनिर्वाचन हुँदैछ । बाराक ओबामाका सौतेनी आमा पट्टीका दाई, मलिक ओबामा केन्याको पश्चिमी प्रान्त सिआयाको गभर्नरका लागि चुनाव लडदै छन् ।

समाचार एजेन्सी एपीसँग फोनमा कुरा गर्दै मलिक ओबामाले आफू अमेरिकी राष्ट्रपतिको नातेदार भएकोले त्यसको निर्वाचनमा कस्तो असर पर्ला भन्ने अनुमान नगरेको बताए ।

उनले भने, “म मलिक ओबामाको हैसियतमा चुनावमा उत्रेको छु । तर, मैले आफ्नो थर र भाईसँगको सम्बन्ध नकार्न सक्दैन । मलाई लाग्छ, मानिसहरु ओबामाको दाई को होला भनेर हेर्न र जान्न चाहन्छन् ।”

मलिक ओबामाले पनि आफ्नो चुनावमा लगभग उस्तै नाराहरु लगाइरहेका छन् जुन सन् २००८ को राष्ट्रपतिको चुनावका बेला बाराक ओबामाले लगाएका थिए ।

बाराक ओबामा जस्तै मलिक ओबामाले पनि परिवर्तनको कुरा गरिरहेका छन् । मलिकका अनुसार गरीबी हटाउनु, आधारभूत संरचना ठिक पार्नु र औद्योगिकरण उनका मुख्य चुनावी मुद्दा हुन् ।

मलिक र बाराक ‌ओबामा परिवारका साथ । अनलाइन तस्बीर

परिवर्तनको नारा
एउटा चुनावी सभालाई सम्बोधन गर्दै मलिक ओबामाले भने, “मलाई पूरा आशा छ, तपाईहरु सबैले मलाई समर्थन गर्नुहुनेछ र यो महत्वपूर्ण पदका लागि मलाई मत दिनुहुनेछ ताकि हामी सिआयामा परिवर्तन ल्याउन सकौं ।”
४ मार्चमा केन्यामा राष्ट्रपति पदका लागि पनि निर्वाचन हुँदैछ ।

यसअघि त्यहाँ सन् २००७ मा आमनिर्वाचन भएको थियो तर, त्यसपछि भएको हिंसामा एक हजारभन्दा बढीको ज्यान गएको थियो र करिब ६ लाख मानिसहरु घरबार विहिन भएका थिए ।

५४ वर्षका ओबामा सिआयाको पहिलो गभर्नर बन्न चाहन्छन् । उनी निर्दलीय उम्मेदवारका रुपमा चुनावमा उत्रेका छन् ।
सन् २०१० को केन्याको नयाँ संविधानमा देशमा ४७ नयाँ राजनीतिक खंड बनाइएको छ जसलाई काउण्टी भनिन्छ र प्रत्येक काउण्टीको प्रमुखका रुपमा गभर्नरको चुनाव हुँदैछ ।

तर मालिक ओबामाको बाटो सहज भने छैन किनभने उनका प्रतिद्वन्दी राजनीतिक दलका उम्मेदवार हुन् र चुनावी खर्चका लागि उनीसँग पैसाको कमी छैन । जबकी राजनीतिका नयाँ खेलाडी मलिक ओबामासँग फण्डको कमी छ ।
मलिक ओबामाले केन्यास्थित एक क्यमराम्यानसँग चुनावी खर्चका लागि सहायता मागेका थिए तर पाएनन् ।

बाराक ओबामाका पिता केन्या निवासी थिए र अमेरिकी राष्ट्रपतिका धेरै नातेदार अहिले पनि केन्यामा छन् । मलिक र बाराक ओबामाका पिता एउटै हुन् तर दुबैका आमा भने फरक–फरक हुन् ।

मलिक ओबामाले केन्याको युनिभर्सिटी अफ नैरोबीबाट अकाउण्टमा डिग्री गरेका छन् । बाराक र मलिकको पहिलो भेट सन् १९८५ मा भएको थियो । त्यसपछि उनीहरुको बेलाबेला भेट भइरहन्छ ।
बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>