समाचारमंगलबार, फाल्गुण २२, २०६९
स्थानीय र प्रहरीबीच झडपः एक युवक कर्णालीमा बेपत्ता
मदिरा खाएर होहल्ला गर्दै हिँडेका पाँच युवा र सात्तला गाविसस्थित डाबनजिक रहेको सशस्त्र प्रहरीबीच हात हालाहाल भएपछि दुईजनालाई प्रहरीले पक्राउ गरेको र अन्य तीनजना भाग्नेक्रममा कर्णालीमा हाम फालेको बताइएको छ ।
नदीमा फाल हालेका एकजना बेपत्ता भएका र अन्य दुईजना नदी तरेर सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
पौडन नसक्दा भैरवस्थान–३ अछामका २१ वर्षीय जितबहादुर विसी बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा टेकबहादुर विसी र डिलबहादुर बुढा रहेका छन् ।
बेपत्ता भएका व्यक्तिलाई प्रहरीले नै बगाएको आरोप लगाउँदै स्थानीयवासीले २२ फागुनमा असाराघाटमा बन्दको घोषणा गरी आन्दोलन गरिरहेका छन् ।
अहिले त्यहाँको अवस्था निकै तनावपूर्ण बन्दै गएको स्थानीयवासीले जानकारी दिएका छन् ।
रासस
