समाचारसोमबार, फाल्गुण २८, २०६९
शीर्ष नेताहरुको बैठक नयाँबानेश्वरमा शुरु
२७ फागुनमा प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा सरकार गठनका लागि संविधानमा संशोधन गर्न ‘बाधा अडकाउ फुकाउ’ को मस्यौदामा सहमति गरेका एमाओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाका शीर्ष नेताहरुले आज बाँकी विवादित विषयहरु टुंगो लगाउने पनि दाबी गरेका छन् ।
संयन्त्र निर्माणमा रेग्मीको आपत्ति
प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिन संविधानमा भएका बाधाहरु हटाउनका लागि चारदलका प्रतिनिधि सम्मिलित कार्यदलले तयार पारेको मस्यौदा प्रधानन्यायाधीश रेग्मीकहाँ पठाइएको थियो ।
२४ बुँदे भनिएको उक्त मस्यौदामा सरकार सञ्चालनका लागि दलहरुको संयन्त्र निर्माण गर्ने बुँदामा प्रधानन्यायाधीशले आपत्ति जनाएको एक नेताले हिमालखबरलाई बताए । उनका अनुसार प्रधानन्यायाधीशले संविधानमै त्यस्तो व्यवस्था नगर्न नेताहरुलाई भनेका छन् । “अनौपचारिक रुपमा त्यस्तो संयन्त्र भए केही आपत्ति छैन तर, संवैधानिक ब्यस्था भने गर्न भएन,” प्रधानन्यायाधीशको राय उद्धृत गर्दै ति नेताले बताए ।
दलहरुको अहिलेको बैठकमा प्रधानन्यायाधीशको रायसुझाव सहितको उक्त मस्यौदालाई अन्तिम रुप दिने तयारी पनि भइरहेको छ ।
यसअघि २७ फागनु साँझ भएको बैठकमा नेपाली सेनामा समायोजन रोजेका माओवादी लडाकुको दर्जा निर्धारण बाहेक अन्य विषयहरुमा सहमति नजिक पुगेको नेताहरुले बताएका थिए ।

