समाचारबुधबार, फाल्गुण ३०, २०६९
हिमाल जनमत सर्वेक्षण: संविधान सभा विघटनको दोषी को ?
२६ माघदेखि ५ फागुनसम्म गरिएको सर्वेक्षणमा १०.६ प्रतिशत जनताले संविधान सभा विघटनको दोष बाबुराम भट्टराई नेतृत्वको सरकारलाई दिएका छन् । एमाओवादीसँगै एमाओवादी नेतृत्वको सरकारलाई जोडेर हेर्दा यो संख्या २६.५ प्रतिशत पुग्छ । त्यस्तै ४.१ प्रतिशतले नेपाली कांग्रेस, १.३ प्रतिशतले एमाले र १ प्रतिशतले वैदेशिक शक्तिलाई दोषी देखेका छन् ।
देशका ३८ जिल्लाका नगरपालिका, नगरोन्मुख गाविस र गविसहरुमा गरिएको सर्वेक्षणमा शहरका उत्तरदातामध्ये १६.६ प्रतिशतले एमाओवादीलाई र ग्रामिण भेगका १२.५ प्रतिशतले सरकारलाई जिम्मेवार ठानेका छन् ।
यसैगरी स्नातकोत्तर र सोभन्दा माथिका २५ प्रतिशतले एमाओवादी, २५ प्रतिशतले नै भट्टराई नेतृत्वको सरकार, १० प्रतिशतले मधेशवादी दल र ५ प्रतिशतले वैदेशिक शक्तिलाई दोषी ठहर्याए।
एमाओवादीलाईं जिम्मेवार ठान्नेमा स्नातक तहसम्मका २७ प्रतिशत छन् भने प्रमाणपत्र तह उत्तिर्ण १९, एसएलसी तहका १९, विद्यालय तहका १६, सामान्य साक्षर ११.५ र निरक्षर ९.४ प्रतिशत छन् ।
एमालेको दोष देख्ने निरक्षर ०.५, साक्षर ०.५, विद्यालय तहका २, एसएलसी तहका २.१, प्रमाणपत्र तहका ०.७ र स्नातक तहका २.१ प्रतिशत छन् भने स्नातकोत्तर तहका कोही देखिएनन् ।
यसमा कांग्रेसलाई जिम्मेवार ठान्ने क्रमशः निरक्षर २.६, साक्षर २.९, विद्यालय तहका ६.१, एसएलसी तहका ३.३, प्रमाणपत्र तहका ४.३, स्नातक तहका ५ र स्नातकोत्तर शुन्य प्रतिशत देखिए । 
