थप समाचारबिहीबार, चैत्र १, २०६९
एकहातले स्टेरीङ्ग समाउँदा गाडी खस्यो
एकहातले स्टेरीङ्ग समाएर गाडी हाँक्न खोज्दा तम्घासवाट नेटाको लागि छुटेको लु १ ज २०२४ नम्बरको जीप नेटा ५ सल्लेरीमा भिरबाट १०० मिटर तल खसेको यात्रुले बताएका छन् । दुर्घटनामा नेटा – ९ का ५५ बर्षका नर बहादुर भण्डारी र ८२ बर्षिय तिलामति श्रीसको ज्यान गएको प्रहरी निरीक्षक रविन विजितेन्द्र विष्टले बताए ।
दुर्घटनामा ७ जना घाईते भएका छन् । घाईतेहरुमा नेटा ६ का दिपक श्रीस, दर्लिङ्ग ५ का मन बहादुर खड्का, नेटा ७ की सिता विक, दर्लिङ्ग ५ कि मनमाया खड्का, नेटा ५ का कुसुम परियार, नेटा ७ का मैना परियार र नेटा ८ का चन्द्रमणि पुन रहेको प्रहरीले जनाएको छ । घाईतेमध्ये दिपक श्रीस र मनबहादुर खड्काको टाउकोमा गम्भीर चोट लागेका कारण थप उपचारका लागि पाल्पा पठाईएको र अन्यको जिल्ला अस्पताल गुल्मीमा उपचार भैरहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए ।
दुर्घटना ३० फागुन राति भएको र पश्चिमी विकट गाउँ भएकोले घाईतेहरुलाई राति अवेर मात्रै सदरमुकाम ल्याईएको थियो । दुर्घटनापछि पौँदी अमराई प्रहरीचौकीबाट गएको प्रहरी टोली र एसएलसी परीक्षा सुरक्षाका लागि खटिएको प्रहरीले घाईतेको उद्धार गरेको थियो ।
गुल्मीमा उपभोक्ता समिति र ठेकेदारहरु भ्रष्टाचारमा लागेर मापदण्ड विपरीत साँघुरा सडकहरु निर्माण गर्ने गरेको जनताको आरोप छ । साँघुरा सडकहरुमा तन्नेरी चालहरुकहरुले लापरवाही पूर्ण तरिकाले सवारी हाँक्ने, गाडी चलाउँदा मोवाईल फोन प्रयोग गर्ने, नजिकै यूवती राख्ने र अनावश्यक गफ गर्ने गरेकाले सवारी दुर्घटना बढ्ने गरेको सरोकारवालाहरुको आरोप छ ।
गगनशिला खड्का, गुल्मी
