थप समाचारशुक्रबार, चैत्र २, २०६९
सिरियाली आन्दोलन तेस्रो वर्षमा, सत्तरी हजारको ज्यान गयो

सिरियामा जारी आन्दोलनमा ७० हजारको ज्यान गएको छ भने १० लाख नागरिक विस्थापित भएका छन् । तस्बीर सभार: टेलिग्राफ
सन् २०११ को मार्च १५ तारिखदेखि सिरियामा आन्दोलन शुरु भएको थियो । मार्च १५ को दिन शुक्रबार परेको थियो । सो दिन सिरियाली नागरिक सरकार विरोधी प्रदर्शनका लागि सडकमा ओर्लिएका थिए ।
सो दिनको स्मरण गर्दै सिरियाका बारेमा शुक्रबारका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु लेख्छन्– “त्यस दिन शुक्रबार थियो र मस्जिदको शुक्रबारे नियमित प्रार्थनापछि आन्दोलनमा सहभागी हुन त्यहाँका नागरिकले फेसबुकमार्फत आह्वान गरेका थिए ।”
तेस्रो वर्षमा पुग्दा सिरियाली आन्दोलनले सत्तरी हजारभन्दा बढी नागरिकको ज्यान पनि लिइसकेको छ ।
मुस्लिम प्रार्थनापछि आह्वान गरिएको सो आन्दोलनका लागि सिरियामा फेसबुकलगायतका समाजिक सञ्जालहरुको महत्वपूर्ण भूमिका रहेको छ ।
सिरियाली नागरिक त्यतिबेला अरब जगतका विभिन्न देशमा जारी रहेको आन्दोलनबाट प्रभावित भएका थिए । उनीहरुको प्रेरणा अरबकै अन्य देशमा जारी रहेको सरकार विरोधी आन्दोलन पनि थियो ।
तर ती मध्ये लगभग सबैजसो देशमा भने प्रजातन्त्रको स्थापना भएको छ । लिबिया, यमन, ट्युनिसिया, इजिप्टलगायतका देशमा त्यहाँका निकै लामो समयसम्म शासन गरेका शासकहरु जनताको आन्दोलनबाटै हटेका छन् ।
सिरियाली नागरिक शुरुमा शान्तिपूर्ण रुपमा आन्दोलनमा सहभागी भएका थिए । तर उनीहरुमाथि सिरियाका वर्तमान राष्ट्रपति बसार अल असादकै नेतृत्वकै सरकारले दमन सुरु गरेको थियो ।
उक्त आन्दोलनका क्रममा ७० हजारभन्दा बढी नागरिकले ज्यान गुमाएकोे मानव अधिकारवादीहरूले जनाएका छन् । साथै कयौं नागरिकले यो अवधिमा सिरियाली सरकारको दमन सहेका छन् ।
मानवअधिकारवादीकाका अनुसार आन्दोलनका क्रममा हजारौं नागरिक घाइते भएका छन् र अरु कयौं बेपत्ता बनाइएका छन् । हराउने र बेपत्ता हुने नागरिकको वास्तविक तथ्याङ्क नै नरहेको उनीहरुको भनाइ छ ।
राष्ट्रपति बसार अल असादको राजीनामाको माग गर्दै शुरु भएको सो आन्दोलन तीन बर्षमा प्रवेश गरिसक्दा पनि यसको शान्तिपूर्ण समाधानको कुनै विकल्प भने अहिलेसम्म पनि देखिएको छैन । यसप्रति विश्वका नेताहरु थप चिन्तित बनेको समाचारमा जनाइएको छ ।
राष्ट्रपतिको राजिनामाको मागगर्दै आएको भएपनि आफूले राजिनामा नदिने र सत्ता पनि नछोड्ने अडानमा असाद छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले जनाएअनुसार हिंसात्मक आन्दोलनबाट दुई वर्षको यस अवधिमा दशलाख नागरिक विदेशमा विस्थापित बनेका छन् ।
शुरुमा शान्तिपूर्ण जनआन्दोलनबाट शुरु भएको आन्दोलन गृहयुद्धमा परिवर्तन भएपछि हजारौ्र व्यक्तिले सीमा पार गरी छिमेकी राष्ट्रमा शरणार्थी बन्न पुगेका हुन् ।
सिरियाली आन्दोलनको निरीक्षण गरिरहेका आधिकारवादीका अनुसार बिहीबारको कारबाहीका क्रममा ४७ जना सरकारी सेना पनि परेका छन् । सो आक्रमणमा ४५ जना सर्वसाधारण परेका बताइएको छ । यतिखेर आउँदासम्म सिरियाली आन्दोलनकारी विद्रोही भएका छन् ।
रासस/एएफपी
