थप समाचारशनिबार, चैत्र ३, २०६९
हराउँदै छ जोगिरा
वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागुगीत लोप हुन थालेकोमा दुःखि भएका जोगिरा सुनाउँछन्, “उहिले गीत गाएरै फागु आएको संकेत गरिन्थ्यो, अब नत ढोल, मृदंग नै बज्छन न त फागुगीत नै गुञ्जिन्छन् ।”
“जोगीरा सर…र…र…, कौन तालपर ढोलक बाजे कौन ताल मृदंग…. कौन तालपर गोरिया नाचे कौन तालपर हम…” भन्ने गीत, ढोल, मृदंग र डम्फूको स्वर अब विरलै सुन्न पाइन्छ,” विन्धी गाविस–३ का मो. इशराइल भन्छन् ।
उनले अगाडि भने, “पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मथानमा गाउँका मानिस बसेर अबेर रातिसम्म जोगीरा गाइन्थ्यो तर अब जोगीरा नसुनेको पनि करिब पाँच वर्ष भयो” ।
समयको परिवर्तन र गाउँका युवा रोजगारीमा विदेशिएपछि गीत विरलै सुनिन थालेको हो । सांस्कृतिक एवम् ऐतिहासिक पर्व फागुले इशराइललाई मात्र होइन यदुकुहाका राम अधिनलाई समेत प्रभाव पारेको छ । उनी भन्छन, “होलीको पौराणिकता अब कहाँ रह्यो र दिनहुँजसो हुने झैझगडाले गर्दा नत अब होलीको रौनक छ, नत माधुर्य नै ।”
अबको होली प्रेम र सद्भावको नभएर वैराग्य र वैमनस्यतापूर्ण भएको छ । भाङ्गको ठाउँमा मदिरा र प्रेम र सद्भावको ठाउँमा राग र द्वेष देखापरेकाले होलीसँगै जोगीरा गीत पनि प्रभावित भएको छ ।
होलीपर्व नजिकिँदै छ तर परापूर्वकालदेखि गाउँदै आएको होली गीत जोगीरा लोप हुँदै गएकोमा बुढापाकाले यसको संरक्षणमा युवावर्ग अगाडि आउनुपर्नेमा जोड दिँदै आएका छन् ।
अहिले बजारमा पाइने जोगीराका अश्लील संस्करणहरुले पनि परम्परागत होलीगीतमाथि धावा बोलेका छन् । पूरानो परम्परा लोप हुँदै गएको र आधुनिकता आइनसकेको संक्रमणकालिन अवस्थामा छ होली संस्कृति पनि ।
राससको सहयोगमा

