समाचारबुधबार, चैत्र ७, २०६९
नक्कली प्रमाणपत्र पेश गर्ने पाँच प्रहरी निलम्बित
नेपालगन्जमा कार्यरत तीनजना र जाजरकोटमा कार्यरत एकजना सई र बर्दियामा कार्यरत एकजना असई नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा निलम्बनमा परेका छन् ।
भेरी अंचल प्रहरी कार्यालय नेपालगन्जका प्रहरी बरिष्ठ उपरिक्षक मधु पुडासैनीका अनुसार, निलम्बनमा पर्नेहरुमा सामुदायिक प्रहरी सेवा नेपालगन्जमा कार्यरत प्रहरी नायब निरीक्षक धर्मेन्द्र शाह, सीमा प्रहरी चौकी जैसपुर बांकेका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजाल छन् ।
त्यसैगरी भेरी अञ्चल प्रहरी कार्यालयमा दरवन्दी भई जिल्ला प्रहरी कार्यालय बर्दियामा काजमा कार्यरत लेखापाल प्रहरी नायब निरीक्षक देवेन्द्र बहादुर कुंवर, जाजरकोट दरवन्दी भइ काजमा प्युठानमा कार्यरत प्रहरी नायब निरीक्षक धन बहादुर पुन र जिल्ला प्रहरी कार्यालय बर्दियामा कार्यरत प्रहरी सहायक निरीक्षक तारा बहादुर रेउले पनि निलम्बनमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा पांचै जनालाई निलम्बन गरी कार्वाही अगाडी बढाइएको प्रहरी बरिष्ठ उपरिक्षक पुडासैनीले जानकारी दिए । निलम्बनमा पर्नेहरु बांके लगायत विभिन्न जिल्लामा ‘मालदार’ भनिने ठाउंहरुमा बसेका व्यक्ती हुन् ।
सरकारी जागिर खानका लागि नक्कली प्रमाणपत्र पेश गर्नेहरु माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।
डि भण्डारी, नेपालगञ्ज
