समाचारबुधबार, चैत्र ७, २०६९
रेग्मी प्रतिवद्ध छन्: राष्ट्रसङ्घीय उपमहासचिव
अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीसँग ७ चैतमा भएको भेटपछि राजनीतिक मामलासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उपमहासचिव जेफ्री फेल्टम्यानले अध्यक्ष रेग्मी संविधानसभाको निर्वाचन निष्पक्षरुपमा गराउन प्रतिबद्ध रहेको आफूले पाएको बताएका छन् ।
“अध्यक्ष रेग्मी जतिसक्दो चाँडो संविधानसभाको निर्वाचन सम्पन्न गरेर राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गर्न आतुर हुनुहुन्छ,” भेटपछि उपमहासचिव फेल्टम्यानले सञ्चारकर्मीसँग भने ।
नेपालको वस्तुस्थितिबारे प्रत्यक्ष जानकारी लिन महासचिव बान कि मुनको प्रतिनिधिका रूपमा आफू नेपाल आएको र विश्वसनीय, पारदर्शी, एवम् समावेशी निर्वाचनका लागि राष्ट्रसङ्घले नेपाललाई सक्दो सहयोग गर्ने उनले बताए ।
उनले आजै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलाई भेटेर संविधानसभा निर्वाचनको तयारी, नेपाल र राष्ट्रसङ्घबीचको सहकार्यलगायतका विषयमा विचारविमर्श गरेका थिए ।
गत असारमा राष्ट्रसङ्घीय उपमहासचिवमा नियुक्त भएका फेल्टम्यान वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन् ।
