समाचारबिहीबार, चैत्र ८, २०६९
माओवादीद्वारा मतदाता नामावली संकलनमा रोक
जिल्ला निर्वाचन कार्यालय धनकुटाबाट लेगुवा पुगेका कर्मचारीहरुलाई फोटो खिच्न तथा मतदाता नामावली संकलन गर्न नेकपा–माओवादीका कार्यकर्ताहरुले अवरोध गरेपछि नामावली दर्ता गराउन आएका सयौं सर्वसाधारण त्यतिकै फर्कन बाध्य भएका छन् ।
प्रधानन्यायधिश खिलाराज रेग्मीलाई सरकारको नेतृत्व दिने चार दलको सहमतिको विरोध गर्दै आएको नेकपा–माओवादीले गोलमेच सम्मेलन गरी राजनितिक दलको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै आएको छ । फोटो सहितको मतदाता नामावली संकलन कार्यमा अवरोध गरिएको नेकपा–माओवादी निर्वाचन क्षेत्र नं. २ का इन्चार्ज नगेन्द्र गहतराजले स्वीकार गरेका छन् ।
फोटो सहितको मतदाता नामावली संकलन कार्य आफ्नो नियमित कार्यक्रम भएकोले त्यसमा अवरोध नपुर्याउन आग्रह गरिए पनि नेकपा–माओवादीले अवरोध पुर्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
७ चैतमा पनि जिल्लाको कुरुलेतेनुपा गाविसमा फोटो सहितको मतदाता नामावली संकलन कार्यमा संघीय लिम्बुवान राज्य परिषदका कार्यकर्ताहरुले अवरोध गरेपछि स्थगित भएको थियो ।
सन्तोष रुचाल, धनकुटा
