खेलकुदसोमबार, चैत्र १२, २०६९
ए डिभिजन सुपर लिग फुटबलः आर्मी विजयी
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी ए डिभिजन सुपर लिग फुटबलमा आर्मीले न्यूरोड टिम (एनआरटी) लाई २–१ पराजित गरेको छ ।
आर्मीको जितमा नवयुग श्रेष्ठले गोल गरे । उनले खेलको पहिलो हाफको ३३ औँ मिनेट र दोस्रो हाफको ५० औँ मिनेटमा गोल गर्दै आर्मीलाई जित दिलाए ।
यस्तै एनआरटीका विदेशी खेलाडी सेगुनले खेलको ५३ औँ मिनेटमा पेनाल्टीमार्फत एक गोल फर्काए । आर्मीका खेलाडी रामकुमार विश्वासले बल ह्याण्ड गरेपछि एनआरटीले पेनाल्टी पाएको हो । यस जितसँगै आर्मीले ३५ अङ्क जोडेको छ भने एनआरटीको पनि समान अङ्क छ ।
यसैगरी सोही मैदानमा ११ चैतमै भएको दोस्रो खेलमा नेपाल प्रहरी क्लब र फ्रेण्डस क्लबबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । फ्रेण्डसका खेलाडी प्रकाश बुढाथोकीले खेल सुरुवाती २१ औँ मिनेटमा जगजित श्रेष्ठको पासमा डिबक्स भित्रबाट गोल गर्दै पहिलो अग्रता लिए ।
नेपाल प्रहरीका तर्फबाट प्रदिप बानियाँले गोल गरे । उनले खेलको ४० औँ मिनेटमा पर्वत पाण्डेको पासमा एक गोल फर्काउदै खेललाई बरारीमा ल्याए ।
प्रहरीका भोला सिलवालले खेलको दोस्रो हाफको ४९ औँ मिनेटमा डिबक्स भित्रबाट थप एक गोल गरे भने फ्रेण्डसका प्रकाशले नै दोस्रो हाफको ६७ औँ मिनेटमा चइख उमर डाइराले दिएको पासलाई गोलमा परिणत गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
यस खेलसँगै फ्रेण्डसले ३१ अङ्क जोडेको छ भने प्रहरीको ३० अङ्क भएको छ ।
प्रतियोगितामा थ्रिस्टार क्लबको ४२, मनाङ मस्र्याङदी क्लब ३७, एनआरटी ३५, आर्मी ३५, मच्छिन्द्र ३२, फ्रेण्डस ३१, प्रहरी ३० र आरसीटीको २९ अङ्क छ ।
