थप समाचारबुधबार, चैत्र १४, २०६९

त्राससँगै पाकिस्तानमा निर्वाचन अभियान शुरु

हिमालखबर

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो चुनावी सभालाई सम्बोधन गर्दै ।

पाकिस्तानमा आगामी ११ मेमा संसदको निर्वाचन घोषणा गरिएपछि निर्वाचनका लागि विभिन्न दलहरु अहिले चुनावी अभियानमा ब्यस्त भएका छन् ।

पाकिस्तानका राष्ट्रिय सुरक्षा अङ्गहरुले सुरक्षा व्यवस्था कडा पारिएको तथा आतङ्कवादीहरुका सम्भावित अखडाहरुमा विशेष निगरानी बढाइएको बताएका छन् ।

पाकिस्तानमा केही वर्षयतादेखि मुस्लिम अतिवादी एवम् आतङ्ककारीहरूले सुरक्षामा चुनौती दिँदै आएका छन् । पाकिस्तानका प्रमुख राजनीतिक नेताहरुमा असुरक्षाको बादल मडारिएको राजधानी इस्लामावादबाट विभिन्न सञचारमाध्यमहरुले जनाएका छन् ।

फ्रान्सेली समाचार समिति एएफपी लेख्छ, “यसअघिका निर्वाचन अभियानमा भएका उच्चस्तरीय नेताको हत्याका कारण अहिले पनि नेताहरुमा त्यसको भूतले काम गरेको छ ।”

सन् २००७ मा भएको आम निर्वाचनको प्रचार अभियानकै क्रममा पाकिस्तानकी पूर्व प्रधानमन्त्री तथा पाकिस्तानको एक प्रमुख दल पाकिस्तान पिपुल्स पार्टीका नेता बेनजिर भुट्टोको हत्या भएको थियो ।

सो समयका तुलनामा अहिले पनि पाकिस्तानको सुरक्षामा सुधार आएको छैन । त्यसैले अहिले शुरु भएका निर्वाचनको प्रचार अभियानमा पनि नेताहरु सशङ्कित भइ नै रहेका छन् ।

पाकिस्तानमा अल कायदाका लडाकूका साथै विभिन्न स्थानहरूमा अफगानिस्तानका तालिवानीको पनि प्रभाव छ । त्यसैगरी यो वितेको पाँचवर्षमा पाकिस्तानी अल्पसङ्ख्यक जातीय समुदाय सिया मुस्लिमहरुको धार्मिक असहिष्णुतामा पनि निकै नै बढोत्तरी भएको छ । यो पाँच वर्षयता पाकिस्तानको इतिहासमा नै सबैभन्दा बढी हत्याका घटना सो समुदायका कारण भएका बताइएको छ ।

त्यसैगरी बलुचिस्तान क्षेत्र केही वर्षमात्र यता आएर निकै हिंसा मच्चिने क्षेत्रका रुपमा विकास भएको छ । सो क्षेत्रमा प्राय दिनहूँजसो हत्याका घटना भइरहेका बताइन्छ ।

पाकिस्तानको ६६ वर्षको इतिहासमा पहिलो पटक प्रजातान्त्रिक रूपमा निर्वाचित नागरिक सरकारले आफ्नो कार्यकाल पूरा गरी अर्को निर्वाचन गर्दैछ ।

बेलायती उपनिवेशबाट सन् १९४७ को अगष्ट १४ मा स्वतन्त्र भएको तथा भारतसँग पृथक भएको पाकिस्तानले तीनपटक सैनिक विद्रोह भोगेको छ । त्यहाँका विगतका नागरिक सरकार पनि सैनिक कुको शिकार भएका थिए ।

चारजना सैनिक शासकले यस मुलुकमा शासन चलाएका छन् । एक निर्वाचित नागरिक सरकारले अर्को निर्वाचित नागरिक सरकारलाई सत्ता हस्तान्तरण गर्न लागेको यो पहिलोपटक हो ।

यसैबीच पाकिस्तानको आगामी निर्वाचन निकै नै प्रतिश्पर्धात्मक हुने अनुमान गर्न थालिएको छ । पाकिस्तानका पूर्व राष्ट्रपति एवम् सैनिक शासक परवेज मुसर्रफ पनि चार वर्षको निर्वासनपछि स्वदेश फर्केका छन् ।

पाकिस्तानका तालिवानीहरुले हत्यागर्ने धम्की दिएको भएपनि निर्वाचनमा भागलिन कै लागि उनी स्वदेश फर्केका हुन् । उनले यसअघि पनि पाकिस्तानमा रहँदा सन् १९९९ देखि २००८ सम्म पाकिस्तानमा रहेका कट्टरपन्थी मुस्लिमहरुले तीन पटकसम्म आक्रमण गरेका थिए ।

एएफपी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>