समाचारबुधबार, चैत्र १४, २०६९
भोजपुर र धनकुटामा मतदाता नामावली दर्तामा माओवादीको अवरोध
नेकपा–माओवादीका कार्यकर्ताहरुले नामावली दर्ता तथा अद्यावधिक कार्यमा खटिएका टोलीलाई धम्की दिएपछि आफूहरु असुरक्षित भएको बताउँदै जिल्लाका चम्पे, याङ्गपाङ्ग, बोया, देउराली, मुलपानी लगायत ९ वटा गाविसमा निर्वाचन आयोगका कर्मचारीहरुले नामावली दर्ता स्थगित गरेका हुन् ।
नेकपा–माओवादीका कार्यकर्ताको धम्कीका कारण समुह २ अन्तर्गतका ९ गाविसको नामावली दर्ता कार्य स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
स्थगित गरिएका गाविसमा पुनः छलफल गरी कार्यक्रम सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीले बताए । भोजपुर सदरमुकाममा भने १४ चैतमा विनाअवरोध नामावली दर्ता कार्य सञ्चालन भईरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि नेकपा–माओवादीका कार्यकर्ताहरुले १३ चैतमा तनहुँको दुलेडाँडा गाविसमा मतदाता नामावली दर्ता कार्यक्रममा अवरोध गर्दै कागजपत्र समेत लुटेका थिए ।
धनकुटामा पनि अवरोध
धनकुटाको मुर्तिढुंगामा संचालन भईरहेको फोटो सहितको मतदाता नामावली संकलन कार्यमा बैद्य निकटको नेकपा–माओवादीले अवरोध गरेपछि स्थगित भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धनकुटाका निर्वाचन अधिकृत सुवर्ण घिमिरेले नेकपा–माओवादीको अवरोधका कारण मुर्तिढुंगामा नामावली दर्ता कार्यक्रम स्थगित भएको बताएका छन् ।
नेकपा–माओवादीको अवरोधपछि मतददाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आएका सयौं सर्वसाधारण त्यत्तिकै घर फर्किएका छन् ।
यता जिल्लाको चुम्बाङ गाउँ विकास समितिमा भने फोटो सहितको मतदाता नामावली संकलन कार्य सम्पन्न भएको छ । विहान १० बजेदेखि शुरु भएको दर्ता कार्य सौहार्दपुर्ण बातावरणमा सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत घिमिरेले बताएका छन् ।
राष्ट्रिय सहमतिको आधारमा राजनीतिक दलहरुको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने माग राख्दै आएको नेकपा–माओवादीले देशका विभिन्न ठाउँमा नामावली संकलन प्रक्रियामा अवरोध गर्दै आएको छ ।
