समाचारबिहीबार, चैत्र १५, २०६९
असारमा निर्वाचन गराउन सकिन्छ: आयुक्त यादव
दोस्रोपटक निर्वाचन आयुक्तमा पुनः नियुक्त भएपछि पहिलोपटक गृह जिल्ला पुगेका यादवले १५ चैत बिहान राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै राजनीतिक दलहरुबीच सहमति भए असारको पहिलो सातामै निर्वाचन गराउन आयोग तयार रहेको बताए ।
“राजनीतिक दलहरुबीच जुन मितिमा निर्वाचन गर्ने सहमति हुन्छ त्यही मितिमा आयोग निर्वाचन गराउन तयार छ,” उनले भने, “स्वच्छ, निष्पक्ष निर्वाचन गराउन आयोग तयार छ, केबल राजनीतिक दलहरुबीच सहमतिको मात्र प्रतिक्षा छ ।”
निर्वाचन गराउन केही जटिलताहरु रहेको उल्लेख गर्दै यादवले ती जटिलताहरु फुकाउन मन्त्रिपरिषद्समक्ष पठाइसकेको जानकारी गराए । दोस्रो संविधानसभाको निर्वाचनका लागि थप ऐन कानून आवश्यक रहेको उनले बताए ।
निर्वाचन आयोगले शुरु गरेको नागरिकताको आधारमा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य अन्तिम चरणमा पुगेको बताउँदै आयुक्त यादवले १५ वैशाख सम्ममा फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य सकिने दाबी गरे ।
करिब ८० प्रतिशत मतदाता नामावली सङ्कलन भइसकेको र बाँकी रहेका २० प्रतिशत पनि १५ वैशाख सम्ममा सङ्कलन गरिसकिने उनको भनाइ थियो ।
रासस
