थप समाचारबिहीबार, चैत्र १५, २०६९
नेल्सन मण्डेला फेरि अस्पताल भर्ना
दक्षिण अफ्रिकाको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिका अनुसार ९४ वर्षीय मण्डेलालाई २७ मार्च राति अस्पताल भर्ना गरिएको हो । यसअघि गत डिसेम्बरमा फोक्सोको संक्रमण र पित्त थैलीको पत्थरीका कारण मण्डेलालाई १८ दिन अस्पताल बस्नु परेको थियो ।
रंगभेद विरुद्ध संघर्ष गरेका कारण दक्षिण अफ्रिकामा उनलाई राष्ट्रपिता मानिन्छ । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति मण्डेलाले सन् १९९४ देखि १९९९ सम्म यो जिम्मेवारी सम्हालेका थिए ।
राष्ट्रपति ज्याकब जुमाले भनेका छन् –“हामी दक्षिण अफ्रिकी साथै संसारभरका मानिसहरुलाई हाम्रा प्रिय मदीबाको स्वास्थ्यमा शीघ्र सुधारका लागि प्रार्थना गर्न आग्रह गर्दछौं । हामीलाई विश्वास छ, चिकित्सकहरुले उहाँको उपचारका लागि हरसम्भव प्रयास गर्नेछन् ।” अफ्रिकीहरु नेशलन मण्डेलालाई सम्मानपूर्वक उनको खानदानी थरबाट सम्बोधन गर्दा ‘मदिबा’ भन्छन् ।
पछिल्लो दुई वर्षमा मण्डेला अस्पताल भर्ना भएको यो चौथो पटक हो ।
मण्डेला सन् २००४ मा पदबाट निवृत्त भएपछि त्यतिसारो सार्वजनिक रुपमा प्रस्तुत हुने गरेका छैनन् । उनी आफूले बाल्यकाल बिताएको दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा पर्ने ‘कुनु’ गाउँमा बस्छन् ।
बीबीसीको सहयोगमा
