समाचारशुक्रबार, चैत्र १६, २०६९
समितिले आन्दोलनरत दलहरुसँग वार्ता गर्ने
प्रमुख दलहरु, सरकार र निर्वाचन आयोगले निर्वाचनको तयारी गरिरहेको बेला बाधा अवरोध पनि देखिएको भन्दै चार दल सहभागी उच्चस्तरीय राजनीतिक समितिले राष्ट्रव्यापी रुपमा निर्वाचनको माहोल बनाउन आन्दोलनरत दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ ।
सेना समायोजन विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा १६ चैतमा बसेको समितिको बैठकले नेकपा–माओवादी र मधेसी जनअधिकार फोरम सहितका दलहरुसँग वार्ता गर्ने निर्णय गरेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले बताए । “मुलुक निर्वाचनमा सामेल भइसकेको छ, तर निर्वाचनका सम्बन्धमा विभिन्न बाधा अवरोध पनि देखिएकाले वार्ता गर्ने निर्णय भएको हो”– उपाध्यक्ष गौतमले भने ।
नेकपा–माओवादीले राजनीतिक व्यक्तिको नेतृत्वमा सरकार गठन गर्नुपर्ने मागसहित वर्तमान सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । अन्य साना दलहरुले पनि समानुपातिक निर्वाचन सङ्ख्या लगायतका विषयमा अहसमति राख्दै आएका छन् । “तुरुन्तै सम्पर्क गरी उहाँहरुको समय मिल्नासाथ सकेसम्म आजै वार्ता गर्छौं”– उपाध्यक्ष गौतमले जानकारी दिए ।
साथै समितिले निर्वाचनका निम्ति सरकारले र निर्वाचन आयोगले गर्दै आएको तयारी सम्बन्धमा आवश्यक जानकारी लिन मन्त्रिपरिषद् अध्यक्ष र आयोगसँग पनि वार्ता गर्ने भएको छ । सरकार र आयोगसँग आवश्यक कानूनी, प्राविधिक एवम् अन्य विषयमा भएका प्रगतिमाथि छलफल गरेपछि निर्वाचनको मिति तोकिने नेताहरुले बताएका छन् ।
