समाचारशुक्रबार, चैत्र १६, २०६९
पारस शाह पुनर्स्थापना केन्द्रमा भर्ना
थाइल्याण्डको बैंककस्थित समितीभेज अस्पतालमा उपचारपछि १५ चैतमा डिस्चार्ज भएका पारसलाई थाइल्याण्डकै चाङमाईस्थित पुनर्स्थापना केन्द्र ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा सोही दिन राति भर्ना गरिएको छ ।
पारसले कम्तिमा पनि तीन महिना उक्त पुनर्स्थापना केन्द्रमा रहेर उपचार गराउनुपर्ने उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन् । पाठकका अनुसार पारसको मुटु रोग सम्बन्धी उपचारको ब्यवस्था पनि सोही केन्द्रमा मिलाइएको छ ।
पारसका बुवा पूर्व राजा ज्ञानेन्द्र शाह र पत्नी हिमानी उपचारको सम्पूर्ण ब्यवस्था मिलाएपछि मात्रै नेपाल फर्कने कार्यक्रम रहेको पनि पाठकले जानकारी दिएका छन् ।
पारसलाई चिकित्सकहरुले धेरै सावधानी अपनाउन र उपचारको क्रम जारी राख्न सल्लाह दिएका छन् ।
उत्तरी थाइल्याण्डको चाङमाइस्थित ‘चान्स रिहाबलिटेसन सेन्टर’ प्रसिद्ध पुनर्स्थापना केन्द्र हो ।
यो पुनर्स्थापना केन्द्रमा विश्वका धेरै शहरहरुबाट लागु औषध र रक्सीको लत लागेकाहरु आउने गर्छन् । केही समयअघि बेलायती रक स्टार पिट डोहर्टी (Pete Doherty) पनि लागु औषधको लत छुटाउन त्यहाँ भर्ना भएका थिए । तर लागु औषधको लत छुटाउनका उनी आफैंले कुनै प्रयास नगरेको भन्दै केन्द्रले डोहर्टीलाई फिर्ता पठाएको थियो ।
बैंकक पोष्टका अनुसार ‘चान्स रिहाबलिटेसन सेन्टर’ मा एउटा क्याबिनको मात्रै मासिक १२ हजार अमेरिकी डलर तिर्नुपर्छ ।

