थप समाचारशनिबार, चैत्र १७, २०६९
चिनी उद्योगमा लागेको आगो निभाइयो
१७ चैत बिहान १० बजेदेखि सर्लाहीको इन्दुशंकर चिनी उद्योगमा लागेको आगो ६ वटा बारुण यन्त्र, प्रहरी र स्थानीय बासिन्दाको अथक प्रयासपछि दिउँसो तीनबजे नियन्त्रणमा आएको छ ।
उद्योगको बगासको थुप्रो (उखुको भुष) मा बिहान १० बजेपछि अकस्मात सल्केको आगो नियन्त्रणमा लिन ५ घण्टाभन्दा धेरै समय लागेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । चिनी उद्योगको पूर्व पट्टी ठूलो परिमाणमा रहेको बगासमा आगो सल्केपछि त्यहाँबाट सय मिटरको दुरीमा रहेको बाँसटोलका बासिन्दा समेत आतङिकत बनेका थिए ।
आगो नियन्त्रणका लागि वीरगञ्जबाट २ , जलेश्वरबाट १, गौरबाट १ र हेटौडाबाट १ बारुण यन्त्र आएका थिए ।
आगो लाग्नुको कारण खुल्न सकेको छैन । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा आएकोले उद्योगमा ठूलो क्षति हुन पाएन ।
आगो निभाउन कार्यमा ठूलो संख्यामा उद्योगका कर्मचारी, स्थानीयवासी, नेपाल तथा सशस्त्र प्रहरी खटिएका थिए ।

