थप समाचारशनिबार, चैत्र १७, २०६९
उत्तर कोरियाद्वारा दक्षिणसँग युद्धको चेतावानी

उत्तर कोरियाली नेता किम जोङ उन । उत्तर कोरियाली आफूसँग अमेरिकासम्म मार हान्ने मिसाइल रहेको बताएको छ ।
उत्तर कोरियाले शनिबार अमेरिका र दक्षिण कोरियाविरुद्ध बयानबाजी गर्दै भनेको छ, “हामी युद्धको अवस्थामा पुगिसकेका छौँ र त्यो नचाहेर पनि युद्धकै अवस्था रहनेछ ।” अहिलेकै अवस्था रहिरह्यो भने दक्षिणसँग युद्धको घोषणा नै गर्ने पनि उसले बताएको छ ।
उत्तर कोरिया सरकारले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ‘हामीहरु दक्षिण कोरियासँग युद्धको चरणमा प्रवेश गरेका छौं’ लेखिएको उत्तर कोरियाको समाचार समिति कोरियन सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । साथै उसले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले युद्ध भड्काउने खालका अनावश्यक एवम् उत्तेजक प्रचारका कार्यले आफूहरु युद्धको अवस्थामा नै प्रवेश गर्न बाध्य भएको आरोप पनि लगाएको छ ।
गत फेब्रुअरी महिनामा तेस्रो पटक परमाणु परीक्षण गरेपछि उत्तर कोरियाले दक्षिण कोरियालाई आक्रमण धम्की दिंदै आएको छ ।
अन्तराष्ट्रिय मामिलाका जानकारहरु उत्तर कोरिया र दक्षिण कोरियाका बीच युद्ध हुने सम्भावनालाई नकार्न नसकिने बताउँछन. । दुबै देशहरु सन् १९५३ देखि युद्धको नजिक छन् र अहिलेसम्म शान्ति सम्झौताका लागि दुवै देशहरुले वार्ता पनि गरेका छैनन् ।
पछिल्लो परमाणु परिक्षणपछि उत्तर कोरियाविरुद्ध अन्तर्राष्ट्रिय नाकावन्दी थप बढेको छ भने यसैबीच अमेरिका र दक्षिण कोरियाले गरेको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरिया क्रुद्ध भएको छ ।
उता अमेरिकाको राष्ट्रिय सुरक्षा परिषदकी प्रवक्ता केटलिन हेडनले उत्तर कोरियाको धम्कीलाई गम्भीरतापूर्वक लिइएको र दक्षिण कोरियासँग निरन्तर सम्पर्कमा रहेको बताएकी छन् ।
उत्तर कोरियाको सबैभन्दा ठूलो ब्यापारिक सहयोगी चीनले उत्तर र दक्षिण कोरियाबीचको तनाव क मगर्नका लागि प्रयास गर्ने जनाएको छ । चीनका विदेशमन्त्री लावरोवले उत्तर कोरियाले एकतर्फी कारवाही अगाडि बढाउँदै गएको बताए । उनले यो तनाव कम गर्न सबैले प्रयास गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
एजेन्सी
