समाचारआइतबार, चैत्र १८, २०६९
भगत सिँह समूहले पर्सामा पनि हतियार बुझायो
गत १३ फागुनमा सरकारसँग भएको शान्ति वार्तामा हतियार बुझाउने र शान्तिपूर्ण राजनीतिमा आउने सहमति भएपछि भगत सिँह समूहले हिंसा त्यागेको घोषणा गर्दै १८ चैतमा पर्सा जिल्ला प्रशासन कार्यालयमा हतियार बुझाएको छ ।
समूहका वार्ता टोली संयोजक सुभाष भनिने मनोज मंण्डलले नलकटुवा पेस्तोल चार थान, टाईमर घडी दुई थान, बारुद पाँच केजी, गोली पाँच थान, स्वचालित पेस्तोल एक थान बुझाएका हुन् ।
यसअघि १७ चैतमा उक्त समूहले नेपालगञ्ज जिल्ला प्रशासन कार्यालयमा पनि थुप्रै हतियार र विष्फोटक पदार्थ बुझाएको थियो ।
यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको ३५ दिने अभियान अन्तर्गत २९ वटा विभिन्न किसिमका हातहतियार संकलन गरेको छ ।
पर्साको मिर्जापुर , जयमंगलापुर , गादी लगायतका गाविसबाट १२ बोर ६ थान , सिक्सर १ थान , कटुवा बन्दुक ६ थान , एकनाले बन्दुक ११ थान र एयरगन पेस्तोल १ थान सहित एयरगानमा लाग्ने १ सय ७० राउण्ड गोली संकलन गरेको छ ।
अली असगर, बीरगञ्ज

