थप समाचारसोमबार, चैत्र १९, २०६९
भारतमा महिला पर्यटक ह्वात्तै घटे
भारतीय उद्योग बाणिज्यसंघले गरेको सर्वेक्षणमा भारत आउने महिला पर्यटकहरुको संख्यामा गत तीन महिनामा ३५ प्रतिशतले कमी आएको पाइएको छ ।
भारतीय उद्योग बाणिज्यसंघका अनुसार गत वर्षको तुलनामा यस वर्ष कुल पर्यटकहरुमा २५ प्रतिशतले कमी आएको छ । यहाँ आउने पर्यटकहरु एसियाका अन्य क्षेत्रहरु मलेसिया, थाइल्याण्ड जस्ता देशहरुमा जान लागेको बताइएको छ ।
गत डिसेम्बरमा दिल्लीमा २३ वर्षीया युवतीको ज्यान जाने गरी भएको सामूहिक बलात्कार पछि भारतभर विरोध प्रदर्शनहरु भए तर त्यसपछि पनि बलात्कारका घटनाहरु भइरहेका छन् ।
गत महिनामात्रै एक स्वीस साइकल यात्री मध्यप्रदेशमा बलात्कृत भइन भने मध्यप्रदेशमै दक्षिण कोरियाली पर्यटक बसेको होटेल मालिकका छोराले उनलाई लागु औषध ख्वाएर बलात्कार गरेको समाचार प्रकाशमा आएको थियो ।
“यि घटनाहरुले महिला पर्यटकहरुको सुरक्षामा गम्भीर चुनौति उत्पन्न भएका छन्,” उद्योग बाणिज्य संघका महासचिव डि एस रावत भन्छन् ।
भारतमा भएका यौन हिंसाका घटनाहरु विश्वभरका समाचार हेडलाइन बनेपछि महिला पर्यटकहरुको संख्यामा ३५ प्रतिशतले कमी आएको सर्वेक्षणले देखाएको छ ।
७२ प्रतिशत टुर अपरेटरहरुले पछिल्लो तीन महिनामा पर्यटकहरुले पहिले नै बुक गराइसकेका भ्रमण र होटल रिजर्वेसनहरु रद्द गराइरहेको बताएका छन् । खासगरी अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट आउने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको टुर अपरेटरहरुको भनाई छ ।
रावतका अनुसार सुरक्षा प्रवन्ध राम्रो नहुँदा पर्यटकहरुको संख्यामा कमी आएको हो यद्दपी विश्व अर्थतन्त्रमा आएको मन्दी पनि यसको एउटा कारण हुनसक्छ । संसारका धेरै देशहरुले भारत सुरक्षित गन्तब्य नभएको भन्दै आफ्ना नागरिकहरुलाई भारत नजान सल्लाह दिने गरेका कारण पनि पर्यटकको संख्यामा भारी गिरावट आएको बताउँछन् रावत ।
सुस्ताउँदै गएको अर्थतन्त्रलाई टेवा दिन सरकारले पर्यटन उद्योगलाई प्रोत्साहन गर्ने प्रयास गरिरहेका बेला यो सर्वेक्षण रिपोर्टले सरकारलाई धक्का दिएको छ ।
एएफपी

