थप समाचारसोमबार, चैत्र १९, २०६९
भारतीय भन्सारमा नेपाली टयाङकर तोडफोड
भारतबाट तेल लिएर आउँदै गरेका नेपाली ट्याङ्करहरुलाई १८ चैतमा भारतीय भन्सारका कर्मचारीहरुले तोडफोड गर्नुका साथै चालकलाई समेत कुटपिट गरी नियन्त्रणमा लिएको छ ।
भारतीय भन्सार कार्यालयले भन्सार पास (कस्टम क्लियरेन्स) का लागि घुस मागेको र नपाएपछि पास नदिई तोडफोड गरेको एकजना ट्याङ्कर चालकले बताएका छन् ।
रक्सौलस्थित भारतीय भन्सार कार्यालय अगाडि ना ३ ख ७३७५, ना १ ख ८९०५, ना १ ख ९८७, ना १ ख ९१०५ र ना २ ख ५१७१ नम्बरको टयाङकरमा तोडफोड भएको हो । भारतीय भन्सारका कर्मचारीले केही ट्याङ्करको सिलसमेत तोडेपछि तेल चुहिरहेको ना.४ ख २९६० नम्बरको टयाङकर चालक कान्छामान मोक्तानले बताएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी बेणीमाधव ज्ञवालीले उक्त घटनाका सम्बन्धमा बुझेर नेपाली ट्याङ्करहरु छुटाउन पहल भैरहेको बताएका छन् । “अर्को देशको कुरा भएकाले हामीले हस्तक्षेप गर्न सक्दैनौं, के रहेछ बुझ्ने काम भइरहेको छ,” ज्ञवालीले भने ।
सहकर्मी कुटिएको विरोधमा नेपाल टयाङकर एसोसियसनले आज विहान ७ बजेदेखि १२ बजेसम्म नेपाल भारत सीमामा अवस्थित मितेरी पुलमा अवरोध गरेको थियो । अहिले उक्त अवरोध नेपाल प्रहरीले हटाइसकेको छ ।
बेलाबेलामा भारतीय भन्सारका कर्मचारीले पैसा मागेर झमेला गर्ने, पिटने काम गर्दै आएको टयाङकर संघका उपाध्यक्ष विनोद मानन्धरले बताए ।
बिम्मी शर्मा, वीरगञ्ज
