समाचारबिहीबार, चैत्र २२, २०६९
योजना अधिकृतको निवासमा बम
तराईमा भूमिगत सशस्त्र समूह ‘तराई कम्युनिस्ट पार्टी’ का सिरहा कमान्डर कृष्ण मधेशीले सिरहा जिविसका योजना अधिकृत सुरेश राउतको निवासमा आफूले बम विष्फोट गराएको दाबी गरेका छन् ।
सिरहाका प्रहरी नायब उपरीक्षक रमेश तामाङका अनुसार, अज्ञात समूहले योजना अधिकृतको निवासमा बम राखे पनि प्राविधिक कारणले बम पूर्ण रुपमा विस्फोट नहुँदा सामान्य क्षति मात्र भएको छ । उक्त वम सानो आवाजका साथै जलेको थियो । आगोबाट निवासका पर्दा र फर्निचरमा क्षति पुगेको छ ।
राजनीतिक आडमा जिविस सिरहामा व्यापक भ्रष्टाचार गर्दै आएकाले चेतावनीस्वरूप विस्फोट गराएको कमान्डर मधेशीले फोनबाट सञ्चारकर्मीलाई बताएका छन् ।
उनकै नेतृत्वमा जिविसका स्थानीय विकास अधिकारी विजयराज सुवेदीको सरकारी निवासमा गत शुक्रबार राति पनि पेट्रोल बम विस्फोट गराएको थियो । विस्फोटबाट सामान्य क्षति भएको थियो ।
