समाचारशनिबार, चैत्र २४, २०६९
फेल हुनेहरुले परीक्षाको विरोध गर्छनः महतो
२४ चैतमा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सदभावना अध्यक्ष राजेन्द्र महतोले अन्तरिम मन्त्रिपरिषद्ले संविधानसभा निर्वाचन असारमा हुन नसक्ने भए कारणसहित कहिले हुनसक्छ छिटै घोषणा गर्न माग गरेका छन् ।
“संविधानसभाको निर्वाचनलाई लिएर जनतामा उत्साह र अन्यौल दुवै छ, त्यसैले सरकारले यथाशिघ्र चुनावको मिति घोषणा गरेर अन्यौल हटाउनुपर्छ,” महतोले भने ।
उनले निर्वाचन दलहरुका लागि परीक्षा भएकाले यसबाट कोही पनि डराउनु वा भाग्न नहुने भन्दै केही दलहरु वार्तामा पनि नआउने र निर्वाचनमा सहभागी नहुने कुरा गर्नु अलोकतान्त्रिक गतिविधि भएको प्रष्ट पारे । उनले थपे, “जो परीक्षामा फेल हुने डरले परीक्षाकै विरोध गर्छन उनीहरु पहिल्यै फेल भइसकेको बुझ्नु पर्छ, केही व्यक्तिहरुको स्वार्थमा निर्वाचन रोकिंदैन ।”
मधेशी मोर्चामा पनि केही दलहरुले मधेश विरोधि क्रियाकलाप गरेको आरोप लगाउँदै आगामी निर्वाचनमा आफ्नो पार्टीले कुनै दलसँग तालमेल नगर्ने महतोले प्रस्ट पारेका थिए ।
