समाचारशनिबार, चैत्र २४, २०६९
चार दललाई वैद्यको चेतावनी
२४ चैतमा काठमाडौंको खुल्लामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कांग्रेस र एमालेले एमाओवादीका पछि लागेर आफ्नो दललाई बेवास्ता गरेको भन्दै त्यसको कडा प्रतिकार गरिने चेतावनी दिएका छन् ।
“हाम्रो पार्टीलाई बेवास्ता गर्दै एमाओवादीका नेताहरूको सल्लाहमा कांग्रेस र एमाले चलेका छन् उनीहरूले पनि महङ्गो मूल्य चुकाउनुपर्नेछ,” वैद्यले भने । उनले अगाडि थपे, “चार दलको संवैधानिक हैसियत केही छैन, उनीहरूले भएको हैसियत पनि कर्मचारीको हातमा बुझाइसके । हैसियत नभएका दलहरूले बोलाएको वार्तामा हामी जान्नौं ।”
आफूहरूको सहमतिबिना निर्वाचन गर्न खोजिए त्यसलाई जस्तोसुकै मूल्य चुकाएर असफल पार्ने बैद्यको दाबी थियो । उनले १ चैतमा चार पक्षबीच भएको सहमति खारेज गरी सर्वदलीय गोलमेचसभाबाट संयुक्त सरकार गठन गर्नुपर्ने माग राखे ।
‘जातियता जनता लडाउने खेल’
कार्यक्रममा नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले जातियताको कुरा जनता लडाउने खेल भएको बताए ।
उनले जातियताले जनताहरुबीचमा लडाइँ हुने भन्दै सङ्घीयताभन्दा पनि राष्ट्रियता प्रमुख बनाएर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।
माओवादी नेताको सुरक्षामा राखिएको हतियार बुझाउन सरकारले दिएको समयसिमाप्रति सङ्केत गर्दै थापाले भने, “ती नपड्कने थोत्रा हतियार लगे हुन्छ, हाम्रा लागि नयाँ हतियार कारखानामा बन्दै छन् ।”
एमाओवादीले जनतालाई धोका दिएको बताउँदै थापाले जनताले मुक्ति नपाउँदै एमाओवादीले क्रान्ति सफल भयो भनेर आत्मसमर्पण गरेको दाबी गरे ।
