समाचारआइतबार, चैत्र २५, २०६९

घोराहीमा विद्यार्थी र बन्दकर्ताबीच झडप, विभिन्न स्थानमा तोडफोड र आगजनी

हिमालखबर

नेकपा–माओवादीका कार्यकर्ताले वीरगञ्जमा आगजनी गरेपछि क्षतिग्रस्त ट्रक । तस्बीर: विम्मी शर्मा

२५ चैतमा नेकपा–माओवादी लगायतका दलहरुले आह्वान गरेको बन्दका क्रममा क्याम्पस बन्द गराउन गएका नेकपा–माओवादीका कार्यकर्ताहरु र क्यम्पसका विद्यार्थीहरुबीच झडप भएको छ ।

बिहानै क्याम्पसको मुलगेटमै ‘बन्द निषेधित क्याम्पस’ लेखिएको ब्यानर टाँगेर पढ्न बसेका विद्यार्थीहरुलाई बन्द गराउन पुगेका नेकपा–माओवादीका कार्यकर्ताहरुले हातपात गर्नुका साथै धम्की समेत दिएका थिए ।

पढाई बन्द नगर्ने भन्दै बिद्यार्थीले बन्दकर्ताहरुको प्रतिकार गर्न थालेपछि केहीबेर दुबै पक्षबीच झडप समेत भएको थियो । बिद्यार्थी र बन्दकर्ताबीच झडप हुन थालेपछि पुगेको प्रहरीले बन्दकर्ताहरुलाई फर्काएको छ ।

क्याम्पसहातामा प्रहरीहरुले सुरक्षा दिइरहेको छ ।

काभ्रेमा बस तोडफोड

बन्दकर्ताहरुले काभ्रेको बनेपामा बन्दको उल्लंघन गरेको भन्दै वीरगञ्जबाट आएको ना ४ ख २५२५ नम्बरको यात्रुबाहक बसमा तोडफोड गरेका छन् ।

त्यस्तै बा २३ प ६२२ नम्बरको मोटरसाइकलमा समेत तोडफोड भएको छ । बन्दकर्ताहरु बनेपा, धुलिखेल, पनौती लगायत बजारका मूख्य–मूख्य क्षेत्रमा आ–आफ्नो पार्टीका झण्डासहित बसेर सडक अवरुद्ध पारिरहेका छन् ।

उदयपुरमा ट्रिपरमा आगजनी
बन्दकर्ताहरुले उदयपुरमा एउटा ट्रिपरमा आगो लगाएका छन् भने दुईदर्जन बढी मोटरसाईकल नियन्त्रणमा लिएका छन् ।
बन्दको अवज्ञा गरेको भन्दै शिवम् ओम मल्टि प्रपोज कम्पनीको ट्रिपरमा बन्दकर्ताहरुले आगो लगाएका हुन् ।

सिरहास्थित मारुती सिमेण्ट उद्योगको लागि चुनढुंगा लिन सिन्धुलीको ककुरठाकुर तर्फ जाँदैगरेको ना १ क २७१८ नम्बरको ट्रिपरलाई बन्दकर्ताहरुले रोकेर जिल्लाको सिरिसे ९ सगरगाँसमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

आगजनिबाट ट्रिपरको अगाडिको भाग पूर्णरुपमा क्षति भएको मारुती सिमेण्ट उद्योगका म्यानेजर दीपक कार्कीले जानकारी दिए ।

त्यस्तै बन्द उल्लंघन गरेकोभन्दै उनीहरुले सदरमुकाम गाईघाटमा २ दर्जन मोटरसाईकल नियन्त्रणमा लिएका छन् ।

अर्घाखाँचीमा मोटर साईकल तोडफोड
वन्दकर्ताहरुले  अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा एउटा मोटर साईकलमाथि तोडफोड गरेका छन् ।
लु १५ प १८२८ नं को मोटरसाईकलमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जमा ट्रकमा पेट्रोल बम प्रहार
नेकपा–माओवादीका कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै वीरगञ्जमा एउटा ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका छन्।

२५ चैतमा रक्सौलबाट वीरगञ्ज तर्फ आइरहेको ना २ ख २५१३ नम्बरको ट्रकमाथि वीरगञ्जको नगवामा पेट्रोल वम प्रहार गरी क्षति पुर्‍याएका छन् ।

पेट्रोल वमले ट्रकको अगाडीको भाग जलेर ध्वस्त भएको छ भने सहचालक वीरगञ्ज श्रीपुर–१४ का गोली हवारीको शरिर जलेर घाइते भएका छन् । घाइते सहचालकको अहिले नारायणी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

विहान पूरै खुलेको वीरगञ्ज बजार ट्रकमा आगजनी पछि आंशिक बन्द भएको छ । लामो दुरीका सवारी साधन चलेका छैनन् भने बजारभित्र पसलहरु बन्द भए पनि सवारी साधनहरु केही मात्रामा चलिरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>