समाचारआइतबार, चैत्र २५, २०६९
नेपालीको घरमा खानतलासी गर्ने भारतीय समातिए
भारतमा हत्या गरी नेपालमा आफन्तकहाँ लुकेको आशंकामा नवलपरासीको सीमा क्षेत्रका नेपालीको घरमा जबरजस्ती खानतलासी गर्ने भारतीय नागरिकहरुलाई स्थानीय ब्यक्तिले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।
केही भारतीय नागरिकले नवलपरासीको गेर्मी गाविसका राम नरेश तेलीको घरमा खान तलासी गर्नथालेपछि भारतीय र नेपाली नागरिकबीच तनाव उत्पन्न भएको थियो ।
विवादपछि स्थानियवासिन्दाले चार जना भारतीय र एक जना नेपालीलाई नियन्त्रणमा लिएर नवलपरासी प्रहरीको जिम्मा लगाएका छन् । भारतीय नम्बरको मोटरसाईकल चढेर आएका व्यक्तिहरुले गेर्मी सहित नवलपरासीको रुपौलिया र कोल्हुवाका स्थानीयवासिन्दाको घरमा पनि खानतलासी गरेका थिए ।
भारतीय व्यक्ति नेपालमा प्रवेश गरेर बिना अनुमति नेपालीहरुको घरमा खान तलासी गर्दा पनि नजिकै रहेको प्रहरी चौकीले कुनै वास्ता नगरेको भन्दै स्थानीयले बिष्णुपुरा प्रहरी चौकीका प्रमुख जगजिवन यादवको सरुवाको माग गरेका छन् ।
