थप समाचारमंगलबार, बैशाख ३, २०७०
तराईमा चैती छठ धुमधामका साथ मनाइदै
२ बैशाखमा खर्नाका दिनदेखि छठको उपासनामा बसेका ब्रतालुहरुले आज साँझ अस्ताउँदो सूर्यलाइ अर्घ दिएर छठी माताको पूजापाठ गर्दैछन् । घर नजीकैको नदी, तलाउ, पोखरी लगायतका पवित्र जलाशयमा ब्रतालुहरुले आज साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिनेछन ।
भोली ४ बैशाख बिहान उदाउँदो सूर्यलाइ अर्घ दिएर पुजापाठ गरेपछि चैती छठ पर्ब विधिवत रुपमा समापन हुनेछ । श्रद्धा, भक्ति र सम्पूर्ण तराईवासीको साझा पर्वको रुपमा रहेको चैती छठ पर्व विधिवतरुपमा आइतबारदेखि शुरु भएको हो ।
चैती छठ पर्बका लागि बीरगन्जको घडीअर्वा पोखरी, रानीघाट, मुडली, छपकैया, इनर्वा लगायतका स्थानमा रहेका जलाशयहरुलाई छठीघाटको रुपमा सरसफाइ गर्नुका साथै सजावट पनि गरिएको छ । घडीअर्वा पोखरीको छठ घाटमा आज साँझ करिब २० हजार भक्तजन र ब्रतालुहरुले पूजापाठ गर्ने घडीअर्वा छठपुजा व्यवस्थापन समितिका सचिव लखन गुप्ताको अनुमान छ ।
तराइमा छठ पर्ब कार्तिक र चैत शुक्ल पक्षमा गरी वर्षमा दुइ पटक मानाईने गरिन्छ । पछिल्लो केहि वर्ष देखि छठ पर्ब पहाडका जिल्लाहरुमा पनि मनाउने प्रचलन बढदै गएको छ । छठमा वर्त बसी सूर्य भगवान् र छठी माताको पूजा गरेमा पारीवारीक सुखसमृद्धि, पुत्र प्राप्ती र मनोकामना पुरा हुने लोकविश्वास छ ।
अली असगर, वीरगञ्ज
