थप समाचारमंगलबार, बैशाख ३, २०७०
प्रभुले छोरी अन्माए
गत ३१ चैतमा छिमेकीको घरबाट सल्किएको आगोले सम्पूर्ण सम्पत्ति नष्ट भएका प्रभु रामले दुलाहा पक्षको सदाशयता र समुदायको सहयोगमा आफ्नी छोरीको विवाह सहजतापूर्वक सम्पन्न गर्न सकेका छन् ।
भारतको सिमावर्ती भेलाहीका केटा पक्षले आगलागीपछि तीलक स्वरुप लिने भनिएको २५ हजार भारु लिएनन् भने विवाहमा दाइजोका लागि तयार राखिएका अन्य सामानहरु जलेकाले बेहुली मात्रै अन्माएर लगे । विवाहका लागि जिल्लाका केही राजनीतिकर्मीहरुले पनि सहयोग गरेका थिए ।
तराईमा दाइजो–तिलक नलिई केटापक्षले विवाह नगर्ने प्रचलनभन्दा बेग्लै प्रद्युम्न रामले प्रभुरामकी छोरी सोनामती कुमारीलाई २ बैशाखमा विना दाइजो–तिलक विवाह गरे ।
आगलागीबाट घर खरानी भएपछि छोरीको विवाह हुन सक्दैन र छोरीमाथि अनेक लाञ्छना पो लाग्ने हो कि भन्ने चिन्ताले सताइएका प्रभुराम केटा पक्षको सदाशयता र समाजको सहयोगमा विवाह गर्न सकेकोमा खुशी भएका छन् ।
बिम्मी शर्मा, बीरगञ्ज
