समाचारबुधबार, बैशाख ४, २०७०
राजधानीमा आधुनिक हतियारसहित चार पक्राउ
३ बैशाख राति प्रहरीले सुराकीका आधारमा अत्याधुनिक राइफल, पिस्तोल र तरवारसहित ४ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी केशवप्रसाद अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा यमबहादुर थापा, एलिसा गुरुङ, रुद्र मल्ल र पंकज मल्ल छन् ।
उनीहरुका साथबाट जीएसजी–५ क्यलिभर टुटु एलआरएचभी लेखिएको जर्मन राइफल १ थान, त्यसमा लाग्ने ५३ राउण्ड गोली, २ म्याग्जिन र जर्मन रिभल्भर १ थान बरामद भएको छ । त्यसैगरी दुई वटा तरवार, छुरी, केही पासपोर्टहरु र रकम लेनदेनको कागज समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरीको भनाई छ ।
