थप समाचारबिहीबार, बैशाख ५, २०७०
बोस्टन हमलाकारीको तस्बीर भेटियो
बोस्टनमा म्याराथन दौडका बेला भएको बम विस्फोटनका अपराधीको खोजीलाई अमेरिकी प्रहरीले घटनाको लगत्तै तीव्र बनाएको थियो । प्रहरीले बुधबार एक संदिग्ध व्यक्तिको तस्बिर पत्ता लगाई त्यसबारेमा थप अनुसन्धान गरिरहेको बताएको छ ।
अहिलेसम्म कसैले पनि सो हमलाको जिम्मेवारी नलिएकाले प्रहरीलाई पनि हत्यारा पत्ता लगाउने निकै गाह्रो भएको थियो ।
घटनाको अनुसन्धान गरिरहेको एफबिआइले उक्त तस्बीरमा देखिएका ब्यक्तिको खोजी तीव्र बनाएको छ । सो तस्बीर सार्वजनिक गर्ने वा नगर्ने भन्नेबारेमा आवश्यक छलफल भइरहेको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रहरीले सो बम हमला अल कायदा एवम् अन्य कुनै आतङ्कवादी समूहबाट भएको आशङ्का गरे पनि हालसम्म त्यसको कुनै प्रमाण भेट्न सकिएको छैन ।
उक्त विस्फोटमा तीनजना व्यक्तिकोे ज्यान गएको थियो भने १८० जना घाइते भएका छन् ।
अनुसन्धानमा सहभागी प्रहरीका अनुसार पछिल्लो जानकारीमा सो हमला आतङ्कवादीले नै गराएको अनुमान छ । आक्रमणमा प्रहरीले एउटा प्रेसर कुकर बम विस्फोट गराएको पाइएको पनि जनाइएको छ ।
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भीषण आतङ्ककारी हमला भएकोले सोमबारको यो घटनापछि पनि सम्भावित त्यस्तै आक्रमणको त्रासले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
एकजना व्यक्ति सो घटना भएलगत्तै दौडिरहेको देखिएको प्रहरीले पत्ता लगाएको दृश्यमा भेटिएको छ । प्रहरीको एक उच्च स्रोतले भन्यो– चोट लागेर अरु नागरिक सडकमा पछारिएको बेलामा सो व्यक्ति भने घटना भएको मैदानमा निस्फिक्रीसँग दौडिरहेको थियो ।
सोही दृश्यका आधारमा सो व्यक्तिलाई आशङ्का गरिएको बताइएको छ । यस विषयमा प्रहरीले थप केही बताएको छैन ।
एपी
