थप समाचारबिहीबार, बैशाख ५, २०७०
राजधानीमा मेडिकल टीमसहितका एम्बुलेन्स
गैरनाफामूलक गैरसरकारी संस्था नेपाल एम्बुलेन्स सेवा (नास) बाट सञ्चालित ती एम्बुलेन्समा चारजनाको मेडिकल टीम सधैं तयारी अवस्थामा रहन्छ। जसले सिकिस्त बिरामीलाई आपतकालीन उपचार गर्दै अस्पताल पुर्याउँछ। प्रसूति व्यथा लागेका महिलालाई प्रसूति सेवा दिने सुविधायुक्त यी एम्बुलेन्समा कैयौं महिलाले सुरक्षित रूपमा बच्चा जन्माएका छन्।
यी एम्बुलेन्स सातदोबाटो, गौशाला, महाराजगञ्ज, त्रिपुरेश्वरस्थित प्रहरी कार्यालय परिसर र सीतापाइलास्थित सैनिक ब्यारेकमा हुन्छन्। जसलाई बोलाउन १०२ मा डायल गर्नुपर्छ।
“सिकिस्त बिरामीलाई आपतकालीन र अस्पताल पुग्नुअघिको उपचार सेवा नभएकाले सहयोग उठाएर दुइटा एम्बुलेन्स किन्यौं, तिनलाई आपतकालीन उपचार गर्न सक्ने गरी उपकरणयुक्त बनायौं र मेडिकल टीमलाई ट्रेण्ड गरी यो सेवा शुरू गर्यौं” नासका संस्थापक महासचिव तथा कार्यकारी निर्देशक महेश नकर्मी भन्छन्।
अमेरिकाबाट आएका प्रोफेसरबाट तीनमहीने आपतकालीन उपचार तालीम पाएका मध्ये उत्कृष्ट ५० जना यी एम्बुलेन्समा ‘मेडिकल टीम’ का रूपमा परिचालित छन्। कार्यकारी निर्देशक नकर्मी आर्थिक सहयोग जुटेमा यी एम्बुलेन्समा हृदयघात भएका बिरामीका निम्ति ‘कार्डियोलोजी’ सेवा दिन सकिने जनशक्ति राख्ने योजना रहेको बताउँछन्।
यी एम्बुलेन्सले अहिलेसम्म ६,९९२ जना सिकिस्त बिरामीलाई सेवा दिइसकेका छन्। तिनमा ललितपुरको ग्रामीण क्षेत्रका र बाहिरी जिल्लाबाट हवाइमार्ग हुँदै काठमाडौं ल्याइएका बढी छन्।
धान्न गाह्रो
उपचार प्रविधिसहितको यस्तो एउटा एम्बुलेन्सको मासिक खर्च रु.१ लाख ८ हजार हुन्छ, कर्मचारी–चालकको तलबसहित। बिरामी ओसार्दा प्रतिकिमी रु.२५ का दरले शुल्क लिइन्छ, जुन ट्याक्सी भाडाभन्दा कम हो। सरदर एउटा बिरामीलाई अस्पताल पुर्याउँदा रु.६५० जति लाग्छ। सहयोग गर्न चाहनेहरूले गरेको सहयोग र संस्थाको सदस्यता शुल्कबाट संकलित रकमले खर्च धान्न गाह्रो भएको नकर्मी बताउँछन्।
पछिल्लो समय केही अस्पतालले यो अभियानमा मिसिन चासो देखाए पनि सरकारबाट सहयोगको वचन समेत नपाएको तीतो अनुभव उनीसँग छ। “कतैबाट सहयोग जुट्यो भने राजधानीमा यही वर्ष पाँच एम्बुलेन्स थप्ने र अन्य शहरमा सेवा विस्तार गर्ने योजना छ” नकर्मी भन्छन्, “एम्बुलेन्स ल्याउन गाह्रो नभए पनि खर्च धान्न गाह्रो छ।”
रामेश्वर बोहरा, हिमाल खबरपत्रिका बाट
