थप समाचारशुक्रबार, बैशाख ६, २०७०
माओवादी र फोरमलाई समेटेमात्र निर्वाचन सुनिश्चित: नेपाल
राज्य सञ्चालनमा चार दलको मात्र एकाधिकार कायम रहेको भन्दै आन्दोलनरत माओवादी र फोरमलाई समितिमा सहभागी गराए मात्र संविधानसभाको नयाँ निर्वाचन सुनिश्चित हुने र त्यसबाट आन्दोलनरत दलहरुको माग समेत समेटिने नेता नेपालले बताए ।
प्रेस चौतारी नेपालले नयाँ बर्षको अवसरमा ६ बैशाखमा राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजनीतिक समितिले अनावश्यक रुपमा नियुक्तिमा भागवण्डा गर्ने र सरकारको काममा हस्तक्षेप गर्ने काम बन्द गर्न आग्रह गरे । उनले भने, “एउटा मापदण्ड बनेकै छ, त्यस अनुसार कसलाई नियुक्ति गर्ने र के के गर्ने भन्नेबारे निर्णय गर्ने पूर्ण अधिकार सरकारलाई नै दिइनुपर्छ ।”
नेता नेपालले अबको निर्वाचनभन्दा अगाडि नै सकेसम्म शासकीय स्वरुप र संघीयता सम्बन्धी विवाद टुंग्याउनुपर्नेमा जोड दिए । यी विषयबारे एउटा निचोडमा पुग्न दलहरुबीच छलफल शुरु गरिनुपर्ने, कसैको धारणा पहिलेभन्दा फेरिएको भए त्यसलाई पनि खुलस्त राख्नुपर्ने र कुरा मिल्न नसके जनमत संग्रहमार्फत् निकासको बाटो खोल्न सकिने उनको भनाइ थियो ।
रामेश्वर बोहरा
