थप समाचारमंगलबार, बैशाख १०, २०७०

घँगारु आक्रमण!

हिमालखबर

लेकाली घँगारु यही गतिले फैलिए आगामी केही वर्षमा मेरुङ र मैयुँ पर्वतबीचको खर्कहरूमा वस्तुभाउलाई चरन नरहने नेर्पा–८ खोटाङका तिल्के राई (७४) ले बताए।

यही खर्कमा जीवन बिताएका राईका अनुसार, यो वनस्पति आठ/दश वर्षदेखि छिटफुट रूपमा देखिन थालेको हो। उनी भन्छन्, “सात/आठ वर्षमा यसले मेरुङ र मैयुँबीचको आधाभन्दा बढी चरन ढाकिसक्यो।”

द्रुत गतिमा फैलँदो यो काँडादार घँगारु कुनै पनि चौपायाले खान सक्दैनन्। यसबारे कुनै जानकारी नआएको बताउने जिल्ला वन कार्यालय खोटाङका डीएफओ धीरेन्द्रप्रसाद सिंहले जलवायु परिवर्तन (ग्लोवल वार्मिङ)का कारण पानी–हिउँ कम पर्दा र तापक्रम वृद्धि हुँदा यो वनस्पतिले मिचाहा रूप लिएको हुनसक्ने जनाए।

यथासक्य चाँडो त्यस क्षेत्रमा अध्ययन टोली पठाउने बताउँदै डीएफओ सिंहले भने, “चराहरूले यसको फल खाएर फैलाइरहेका हुनसक्छन्।”

वनस्पतिविज्ञ डा. तीर्थबहादुर श्रेष्ठ भने यसलाई खर्कहरूमा मान्छे नहुँदाको परिणामको रूपमा अर्थ्याउँछन्। उनको भनाइमा, हिजोआज लेकाली खर्कहरूमा गोठाला र वस्तुभाउ कम हुँदा कतिपय वनस्पतिले मिचाहा प्रवृत्ति देखाएका हुनसक्छन्।

खेतबारीमा हरेक साल अनावश्यक बोटबिरुवा नियन्त्रण गरिन्छ। खर्कमा पनि पहिला धेरै वस्तुभाउ र गोठालाहरू हुँदा वनमा चाप पर्थ्यो, अनावश्यक वनस्पति नियन्त्रण हुन्थ्यो।

मैयुँ र मेरुङमा घँगारु फैलनुको मिहिन अनुसन्धान नगरी विश्वको त्यो कुनामा विश्वव्यापी जलवायु परिवर्तनको असर देखिएको भन्ने निष्कर्षमा पुग्न नहुने डा. श्रेष्ठले बताए।

“बेलैमा खोजबिन गरेर त्यसलाई नियन्त्रण नगरिए भोलि हाम्रा खर्कहरू चरनविहीन बन्न सक्छन्”, डा. श्रेष्ठ भन्छन्, “मूल कुरा त्यहाँ मान्छेको उपस्थिति चाहियो, नेपाली खर्क र हिमालहरू मान्छे र व्यवस्थापनको पर्र्खाइमा छन्।”
आनन्द राई, हिमाल खबरपत्रिकाबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>